एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सुरुवाती केन्द्रविन्दू बनेको चीनमा उपचार हुन बाँकी करिब २ हजार ४ सयको हाराहारीमा मात्रै रहेको पाइएको छ।
विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस ७ लाख ८२ हजार ३ सय ६५ लाई संक्रमण भएको छ भने ३७ हजार ५ सय ८२ को मृत्यु भएको छ।
पछिल्लो समय निरन्तर संक्रमण र मृत्युदर स्थिर राखेको चीनले कोरोनाका बिरामीको संख्या निकै कममा सीमित गरेको छ।
चीनमा अहिलेसम्म ८१ हजार ४ सय ७० लाई कोरोना संक्रमण भएकामा ७५ हजार ७ सयको उपचारपछि निको भइसकेको छ। कोरोनाबाट ३३ सय ४ जनाको मृत्यु भएको छ। त्यसअनुसार २ हजार ४ सय ६६ जनामात्रै निको हुन बाँकी छन्।
चाइना डेलीका अनुसार चीन मुख्य भूमिमा सोमबार ४८ मात्रै नयाँ संक्रमित देखा परे। हुवे प्रान्तमा एक जनाको मत्यु भएको छ। संक्रमित ४८ मध्ये ४४ चीनबाहिरबाट आएकामा देखिएको हो ।
चीनबाहेकमा देशमा भने कोरोना भाइरसको संक्रमण तीव्र छ। जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेको पछिल्लो विवरण अनुसार इटालीमा एक लाख १ हजार ७ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । मृत्यु हुनेको संख्या भने ११ हजार ५ सय १९ रहेको छ।
त्यस्तै पछिल्लो समय केन्द्रविन्दू बनेको अमेरिकामा कोरोना संक्रमित हुनेहरुको संख्या एक लाख ६१ हजार ८ सय ७ रहेको छ भने ३ हजार १ सय ४८ को मृत्यु भइसकेको छ।
स्पेनमा ८७ हजार ९ सय ५६ जनालाई कोरोना संक्रमण भएको छ भने ७ हजार ७ सय १६ को मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।