एजेन्सी–अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को उपचारका लागि औषधि प्रयोगको आपतकालीन स्वीकृति प्रदान गरेको छ। एफडीएले मलेरियाविरुद्धको औषधिको प्रयोग कोभिड १९ का लागि स्वीकृति प्रदान गरेको हो। यो स्वीकृतिपछि डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले वक्तव्य जारी गरेर ३० मिलियन डोज हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट र १ मिलियन डोज क्लोरोक्वीन फस्फेट राष्ट्रिय भण्डारणलाई प्रदान गरिने जनाएको छ।
क्लोरोक्वीन फस्फेट बेयर फार्मास्युटिकल्सले बनाएको हो भने हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट स्याण्डोजले प्रदान गरेको हो। यो औषधि चिकित्सिकले कोभिड–१९ का बिरामी किशोरहरु र जवानहरुका लागि प्रयोग गर्न सक्ने भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाविरुद्धको औषधि कोभिड १९ को उपचारमा गेमचेन्जर हुनसक्ने बताउँदै आएका छन्। यी औषधि सामान्यतया मलेरियाको उपचारका लागि मुखबाट दिने औषधिहरु हुन्। डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले कोरोना भाइरसविरुद्धको ल्याब परीक्षणणमा यी औषधिले कोरोना भाइरसविरुद्ध गतिविधि देखाएको उल्लेख छ । तर अहिलेसम्म कोरोनाको छुट्टै औषधिभने बनिसकेको छैन।
एफडीएले न्युयोर्कमा रहेका केही कोभिड–१९ का बिरामीमा यी औषधि चलाउन स्वीकृति प्रदान गरिसकेको छ। अमेरिकाको न्युयोर्कमा सबैभन्दा धेरै कोरोना संक्रमणका बिरामी पुष्टि भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।