काठमाडौं- नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको शक्ति सहयोगमा केन्द्रीत गराउन सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन्। सभापति देउवालाई पत्र लेख्दै नेता आचार्यले वर्तमान संकटको अवस्थामा सरकार तथा सामाजिक संस्थासँग समन्वय गरी पार्टी परिचालन हुनुपर्नेमा जोड दिए।
सामाजिक सञ्जाल मार्फत नेता आचार्यले कांग्रेसको संस्थागत शक्ति र जनपरिचालन गर्न सक्ने सामर्थ्यलाई देशव्यापी परिचालन गर्न आग्रह गरेका छन्। कांग्रेस सहयोगी र सहभागी भएर कोरोना भाइरसक विरुद्ध प्रभावकारी राष्ट्रिय र मानवीय अभियान सञ्चालन गर्न सकिने उनले पत्रमा लेखेका छन्।


सभापतिलाई नेता आचार्यले लेखेको पत्रको पूर्णांशः
आदरणीय केन्द्रीय सभापतिज्यू,
नेपाली कांग्रेस।
कोरोना भाइरसको वर्तमान संकट हाम्रो राष्ट्रिय संकट मात्र होइन, मानव जातिको अस्तित्वको संकट भएको छ। मानव र माइक्रोब्सको यो विश्वब्यापी युद्धमा कुनै पनि शर्त र संकोच नराखी नेपाली कांग्रेसको संस्थागत शक्ति र जन परिचालन गर्न सक्ने सामर्थ्यलाई नेपाल सरकारका निर्णय र प्रयाससँग समन्वय गर्नेगरी अविलम्ब देशव्यापी रुपमा क्रियाशील गराउन अनुरोध गर्दछु। यस सन्दर्भमा हामी सरकारका निर्णय र प्रयासहरुमा निम्नलिखित रुपमा सहयोगी र सहभागी भएर कोरोना भाइरसका विरुद्ध एउटा प्रभावकारी राष्ट्रिय र मानवीय अभियानलाई गति प्रदान गर्न सक्छौं।
१. सरकारको लकडाउन गर्ने निर्णयलाई थप प्रभावकारी बनाउन देशव्यापीरुपमा पार्टीका साथीहरुले सरकारी निकायसँग समन्वय गरी उत्प्रेरक र अनुगमनकर्ताको भूमिका निर्वाह गर्न सक्छन्।
२. कोरोना संक्रमणको आशंका भएकाको पहिचान गर्न वडा, गाउँ र नगर तहका साथीहरूले सरकारी प्रयासमा सहयोग गर्न सक्नुहुन्छ। सम्बन्धित तहका पार्टी नेतृत्वले यस कार्यको संयोजन गर्नेछन्।
यो काम मानवीय संवेदनाप्रति सजग रहेर गर्नुपर्ने काम भएकाले सरकारी निकायसँग पुर्णतः समन्वय गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।
३. संक्रमितको पहिचान र परीक्षण गर्ने काम, संक्रमितलाई आइसोलेसनमा राख्ने संरचनाको पर्याप्त तयारी, गम्भीर बिरामीका लागी औषधी, रेस्पिरेटर, भेन्टिलेटरसहितको आइसियू कक्ष तथा स्वास्थ्यकर्मीका लागी पर्याप्त पिपिई र पर्याप्त परीक्षण किटको व्यवस्था गर्न सकेमात्र हामी तीब्र संक्रमण र ठूलो मानवीय क्षति रोक्न सक्छौं। यतिखेर हाम्रो राष्ट्रिय प्राथमिकता यही हो। यस काममा पार्टीका साथी र समर्थक मित्रहरुलाई विभिन्न ढंगले सरकारको प्रयासमा एकताबद्ध हुन आग्रह गरौं।
सभापतिज्यु, यो युद्धको नेतृत्व केवल चिकित्सक र स्वास्थ्यकर्मीले मात्र गर्न सक्छन्। हामी केवल उनीहरुका लागि आवश्यक सामानको बन्दोबस्त र उनीहरुको सफलताको निम्ति प्रार्थना गर्न सक्छौं।
४. लकडाउनको यस अवधिमा विपन्न परिवार र दैनिक श्रम गरेर गुजारा गर्नेहरु ठूलो जोखिममा छन्। यस कार्यमा स्थानीय सरकार र सामाजिक संस्थासँग हातेमालो गरेर पार्टीपंक्तिले सहयोग परिचालन गर्न सक्छन्। अहिले किसान, श्रमिक, उत्पादक र बजार व्यवसायी हतास छन्। उत्पादन, ढुवानी र बजार अस्तव्यस्त छ। तीनै तहको सरकारले मनोबल बढाउने र आर्थिक उत्प्रेरणा प्रदान गर्न जरुरी छ।
यसतर्फ पनि पार्टीले सरकारलाई परामर्श दिन र ऐक्यबद्धता प्रकट गर्न जरुरी देख्दछु।
संक्रमणबाट आफू पनि र अरुलाई पनि जोगाऔं भन्ने अपिल गरौं।
जय नेपाल !
महेश आचार्य र केन्द्रीय सदस्य नेकास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।