काठमाडौं- विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरी निगरानीमा राखिएको दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावित देशबाट आएका उनीहरुको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका हुन्।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा देवकोटाले हालसम्म नेपालमा कोरोना संक्रमण देखिएका आफन्त, साथी र उनीहरुले भेटेका केहीको नमुना परीक्षणमा कोरोना संक्रमण नदेखिएको पनि जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयले देशभरका आइसोलेसनमा ९३ जना व्यक्तिलाई राखेको छ।
उनले पाटन र वीर अस्पतालमा मृत्यु भएका ३ जनाको पनि ल्याब परीक्षण भइरहेको बताए। तीमध्ये वीरमा मृत्यु भएका एक जना व्यक्ति भारतीय नागरिक हुन्। उनी कालिमाटीमा बस्दै आएका थिए। उनी ज्वरोका बिरामी थिए।
हालसम्म टेकु प्रयोगशालामा ९ सय ९३ जनाको जाँच भइसकेको छ।
नेपालमा हालसम्म ५ जनामा मात्र संक्रमण भेटिएको छ। तीमध्ये एक जनालाई निको भइसकेको छ भने ४ जना उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।