काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ। संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देशभित्र र विदेशमा समस्यामा परेका नेपालीहरुको सहयोगार्थ सो रकम जम्मा भएको हो।
श्रेष्ठले सहयोगका लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन्। कोरोना भाइरसका कारण विदेशमा बस्ने नेपाली मध्ये बेलायतमा २ जनाको मृत्यु भइसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ। संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइनसमेत सुरु गरेको छ।
संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारीविरुद्ध लड्न सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।