काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले आइतबार ल्याएको राहत प्याकेज अपूर्ण रहेको जनाएको छ।
कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटलाई सम्बोधन गर्न सरकारले ल्याएको प्याकेजका आंशिक पक्ष सकरात्मक भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। २० लाखभन्दा कम पारिश्रमिक लिएकाहरुका लागि तीन महिनासम्मको ब्याज मिनाहा हुनुपर्नेमा कांग्रेस अडिग रहेको उनले बताए।
ज्यालादारी, उद्योगी, व्यवसायी, पर्यटन तथा सञ्चार माध्यमका पक्षमा सरकारको राहत प्याकेजले न्यून सम्बोधन गरेको प्रवक्ता शर्माले बताए। उनले कोरोना भाइरस अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएपछि त्यसबाट सबैभन्दा छिटो र बढी प्रभावित भएको पर्यटन क्षेत्रको समस्या सरकारले सम्बोधन नगरेको बताए।
पर्यटनसम्बद्ध संस्थामा हजारौंको रोजगारी गुमेको जनाउँदै शर्माले उक्त क्षेत्रको समस्या सुनुवाई नगरेको बताए। सबै क्षेत्रलाई प्रताडित बनाएको कोरोना प्रकोपले राज्यको चौथो अंगलाई समेत प्रभावित बनाएको उनले बताए।
उनले भने, ‘आज छापा माध्यमहरु बन्द गर्ने अवस्थामा पुगेका छन्। आर्थिक संकट गहिरिँदै जाँदा अनलाइनहरुमा समेत असर देखिन सक्छ।’ आर्थिक प्याकेज घोषणा गर्दा सरकारले सञ्चार माध्यमलाई ध्यान नदिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।