काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति र बिक्री वितरण सहज रुपमा भइरहेको दावी गरिरहे पनि बजारमा अभाव कायमै रहेको भन्दै सर्वसाधारणको गुनासो आउने क्रम रोकिएको छैन। विभिन्न माध्यामबाट निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दैनिक १ सयको हाराहारीमा गुनासो आउने गरेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत शुक्रबार बेलुकाबाट मात्र संचालनमा ल्याएको गुनासो सुनुवाई सम्बन्धी उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सिआरएमआइएस) तथा कन्जुमर एपमा ग्यासको अभावसम्बन्धी सोमबार बिहानसम्म २ सय ४० वटा गुनासो दर्ता भएका छन्।
यसरी आएका गुनासोहरु अधिकांश काठमाडौं उपत्यकाभित्रका छन् भने केहि तराईका जिल्लाबाट पनि गुनासो आएका छन्। त्यस्तै उपभोक्ता गुनासो सुन्नका लागि विभागले टोल फ्रि नम्बर ११३७ पनि संचालन गरिरहेको छ। सिआरएमआइएस र टोल फ्रि नम्बरमा सबैभन्दा बढी ग्यास नपाएको गुनासो आउने गरेको विभागका सहप्रवक्ता दीपकराज पोखरेलले बताए।
यसरी आएका गुनासो विभागले आयल निगमलाई पठाउँछ भने निगमले सम्बन्धित क्षेत्रको ग्यास वितरकलाई सम्पर्क गरेर समस्या समाधान गर्ने गरिएको छ।
आयल निगमले आइतबारबाट आधा सिलिण्डर मात्रै बेच्न ग्यास व्यवसायीलाई निर्देशन दिइसकेको छ। त्यस्तै एउटा कम्पनीको ग्यास अर्को कम्पनीले सजिलै साट्न सकिने व्यवस्था मिलाउन निगमले व्यवसायीहरुलाई निर्देशन दिइसकेको छ।
पछिल्लो ३ दिनमा उपत्यकालगायतका विभिन्न स्थानमा आयल निगमले जम्मा ८७ हजार ६ सय ४० सिलिण्डर ग्यास बेचेको छ। शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १ सय ८ र आइतबार ३९ हजार ८ सय ६४ सिलिण्डर ग्यास बिक्री भएको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।