काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को असर नेपालमा पनि परेकाे छ। कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले चैत १० देखि २१ गतेसम्म देशभर सञ्चालित सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाएको छ। यसको प्रतक्ष्य असर नेपालको यातायात क्षेत्रमा समेत परेको छ।
नेपालका यातायात व्यवसायीहरुले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको मार नेपाल र यातायात क्षेत्रमा पर्नु स्वभाविक हो। यस अवस्थामा सरकारले तत्काल यातायात व्यवसायीको किस्ता स्थगन गर्दै सबैखाले परिस्थितीको अन्त्य नभएसम्म व्याज मिनाहको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ।
'यस विषम परिस्थितीका कारण कतिपय यातायातका साधनले समयमा राज्यलाई कर तिर्न सकिरहेको अवस्था छैन, बीमा रकम भुक्तानी गर्न सकेका छैनन्' महासंघमा महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारलाई तत्कालका लागि कागजपत्रमा जरिवना नगर्ने व्यवस्था र बीमा फेलको अवस्थालाई यथावत गर्दै सम्पूर्ण सवारी कागजातहरुमा लाग्ने जरिवना नलाग्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु।'
लकडाउनको समयमा अत्यावश्यक सामग्री ढुवानी गर्ने कर्मचारी, चालक सहचालकले बाटोका पसल बन्द हुँदा खानासमेत खान नपाएको महासंघले जनाएको छ। सरकारले यातायात मजदूर/कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न पनि महासंघले माग गरेकाे छ।
साथै, अत्यावश्यक यातायातका चालक, सहचालक तथा मजदूर कर्मचारीलाई स्वास्थ्य उपकरण सहज ढंगबाट मिलाउन सम्बन्धित निकायलाई महासंघले ध्यानकर्षण गराएको छ। महासंघले सरकारले दिएको निर्देशन पालना गर्दै घरभित्र बस्न सम्पूर्ण देशभरका यातायात व्यवसायी, मजदूर, कर्मचारीलाई आग्रह पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।