काठमाडौं - सरकारले घोषणा गरेको लक डाउन जारी रहुञ्जेल सेयर बजार बन्द हुने भएको छ। लगानीकर्ताको स्वस्थ्यलाई ध्यानमा राखेर लक डाउन खुला नभएसम्म र अवस्था सामान्य नभएसम्मका लागि कारोबार बन्द हुने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।
धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली २०७५ अनुसार काबुभन्दा बाहिरको अवस्थामा नेप्सेले बोर्डलाई जानकारी गराएर कारोबार बन्द गर्न सक्ने व्यवस्था रहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले बताए।
विनियमावलीको दफा २१ मा धितोपत्र कारोबार स्थगन गर्न सक्ने व्यवस्था छ। उक्त विनियमावलीमा प्रकृतिक प्रकोप राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिइ कारोबार प्रणालीको संञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ।
अहिलेको अवस्था पनि काबुभन्दा बाहिरिको र राष्ट्रिय अन्तर्राष्ट्रिय संकटको वेला भएकोले अवस्था सामान्य नभएसम्मका लागि कारोबार बन्द हुने गिरिले जानकारि दिए। दोस्रो बजारमा अझै पनि म्यानुअल कारोबार धेरै हुने भएकाले तत्काल सेयर बजार खुला गर्न नसकिने उनको तर्क छ।
दोस्रो बजारमा सबैभन्दा धेरै पौने ५ अर्बको कारोबार हुँदा अनलाइन प्रणालीबाट जम्मा ३५ प्रतिशत मात्रै कारोबार भएको देखिन्छ। अझै पनि अधिकाम्स लगानीकर्ता ब्रोकर कार्यालय धाउने अवस्था यथावत छ। अनलाइनबाट कारोबार भए पनि राफसाफका लागि भौतिक रूपमा उपस्थित हुनु पर्ने अवस्थाले कारोबार सञ्चालन गर्न नसकिने बोर्डको धारणा छ।
उक्त विनियमावलीमा धितोपत्र बजारलाई लगानीकर्ताको हितको संरक्षण गर्न आवस्यक र उचित छ भन्ने लागेमा वा आफ्नो कारोबार प्रणाली प्रति जनविश्वास कायम राख्न कुनै धितोपत्रको कारोबार रोक्न आवस्यक छ भन्ने लागेमा बोर्डको पूर्वस्वीकृति लिइ धितोपत्र बजारले त्यस्तो धितोपत्रको कारोबार अस्थायीरूपमा स्थगन गर्न सक्ने व्यवस्था छ।
यस व्यवस्थामा कति दिनसम्मका लागि भनेरनिश्चित समय तोकिएको छैन। स्थगन समय अवस्था अनुसार बोर्ड र नेप्सेले तय गर्न सक्नेछन्।
सरकारले कोरोनाको संक्रमण बढ्न नदिन गत सोमबारदेखि लक डाउन गरेको छ। दोस्रो बजार सरकारले लक डाउन गर्नु भन्दा एक दिन अगाडि देखिनै कारोबार बन्द भएको थियो। सरकारले २५ जना भन्दा बढि मानिसहरू एकै ठाउँमा नबस्न तथा सर्वसनिक भोज भतेर नगर्न अनुरोध गरेको केहि दिनमा नै पुरै लक गरेको थियो।
पहिलो चरणमा नेपाल सरकारले चैत १७ गतेसम्म लक डाउन गरेको थियो। संक्रमणको जोखिम अझै पनि उच्च भएको हुँदा सरकारले समय थप बढाउने तयारी गरिरहेको छ। यदि सरकारले लक डाउनको समय थप गर्योँ भने कारोबार पनि बन्द हुने साउदले जानकारी दिए।
कतिपयले अनलाइन प्रणाली हुँदाहुँदै कारोबार बन्द गर्न नहुने भन्दै आएका थिए। अमेरिकामा कोरोना भाइरसको प्रभाव दिन दिनै बढ्दै गर्दा पनि स्टक एक्सचेन्ज खुलेको हुँदा नेपालमा पनि बन्द हुन नहुने तर्को कतिपय लगानीकर्ताको छ। तर नेपालको सेयर बजार पूर्णरूपमा अनलाइन भैसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।