काठमाडौं–विश्वभरि महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा निन्त्रणका लागि नेपाली सेनाले ‘हाइटेक’ विधि अपनाउने भएको छ।
नेपाली सेनाले त्यसका लागि ‘कोभिड–१९ रेस्पोन्स एप’ सञ्चालनमा ल्याएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार ‘क्राउड सोर्सिङ’को अवधारणाअन्तर्गत ल्याएको उक्त एपमा प्राप्त सर्वसाधारणका सूचना अनुसार सेनाले आकस्मिक सेवा प्रदान गर्ने छ।
‘हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको प्रभावले नेपालमा पनि संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सन्दर्भमा क्राउड सोर्सिङको अवधारणाअनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स नामक मोबाइल एप तयार गरि प्रयोगमा ल्याएको छ,’ सेनाले भनेको छ।
उक्त एपमा सर्वसाधरणले आफन्तमा कुनै लक्षण देखिएमा त्यो विवरण उपलब्ध गराउनुपर्ने र त्यसका आधारमा सेना बिरामीसँग पुग्ने बताइएको छ।
‘यस मोबाइल एपको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस विपद्को घडीमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्नसमेत यो मोबाइल एपले सहयोग पुर्याउने छ।’
एपमार्फत् प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याइने पनि सेनाले जनाएको छ।
उक्त एप नेपाली सेनाको आधिकारिक वेबसाईटबाट डाउनलोड गर्न सकिनेछ भने हाललाई यो एन्ड्रोइड मोबाईल फोनमा मात्र उपलब्ध हुने छ। केही समय यो एप सबै खाले मोबाइलमा प्रयोग गर्न मिल्ने सेनाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।