काठमाडौं- कोरोना त्रासका कारण चैत ११ गतेबाट देशभर लकडाउन सुरु भएपछि मुलुकको आपूर्ति प्रणाली ठप्पप्रायः छ। अत्यावश्यक वस्तु बाहेकको बजार पूर्ण रुपमा बन्द छ।
अत्यावश्यक दैनिक उपभोग्य वस्तुको पनि बिक्री वितरण सहज रुपमा भइरहेको छैन। बजारमा सबैभन्दा बढी खाना पकाउने ग्यासको अभाव छ। खाद्यान्न लगायत वस्तुको अभावबारे पनि उपभोक्ताको गुनासा छन्।
उपभोक्ताका गुनासो सुन्न भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यान्वयनमा ल्याएको उपभोक्ता अधिकार व्यवस्थापन सुचना प्रणाली (सिआरएमआइएस) मा सबैभन्दा धेरै नेपाल आयल निगमसँग सम्बन्धित गुनासाहरु आउने गरेका छन्।
शनिबार राती १० बजेसम्म आएका १ सय ४६ वटा गुनासाहरुमध्ये ९० प्रतिशत निगमसँग सम्बन्धित छन्।
यसरी आएका गुनासामध्ये ९८ प्रतिशत गुनासो ग्यास अभावका छन्।
खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्बन्धित ७ प्रतिशत र जिल्ला प्रशासन कार्यालय रौतहटसँग सम्बन्धित २ प्रतिशत गुनासा छन्।
त्यस्तै अन्य निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरसँग सम्बन्धित समान एकएक प्रतिशत गुनासो आएका छन्।
शनिबार रातिसम्म विभागको एप्लिकेसनमा आएका १ सय ४६ वटा गुनासामध्ये ९८ प्रतिशत ग्यासको अभाव, १७ प्रतिशत खाद्य सामग्रीको अभाव र ३० प्रतिशत अन्य सरसामानको अभावसँग सम्बन्धित छन्। त्यस्तै २ प्रतिशत ग्यासको कालो बजारी, १ प्रतिशत मास्कको कालो बजारी र १ प्रतिशत इन्टरनेट स्लो चलेकोसँग सम्बन्धित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।