काठमाडौं- प्रायः लेखकको गुनासो सुनिन्थ्यो, लेख्ने समय नै पाइएन। कसैलाई समयले साथ नदिने त कसैलाई अवस्थाले। कसैलाई वातारणले। अहिले देश पुरै लकडाउनमा छ। शान्त छ टोल र समाज। मान्छेको आवतजावत ठप्प।
सरकारले सबैलाई घरमै बस्न प्रेरित गरिरहेको बेलामा लेखकहरू पनि पक्कै घरमै त होलान्। कोरोनाले यति मरे, यति संक्रमित भए भन्ने तनाव भएपनि समय प्रशस्त छ उनीहरूसँग। यो लकडाउनमा उनीहरू के गरिरहेका होलान? नेपाललाइभले केही साहित्यकारसँग भलाकुसारी गरेको थियो।
पोएट्री बेस्ड फिल्म हेर्दै छु : सरस्वती प्रतीक्षा
उपन्यास लेख्दै थिएँ। लेख्दै गरेको उपन्यासको काम चैत्र महिनासम्मको लागि स्थगित गरेकी छु। त्यसको लागि थप एकाग्रताको आवश्यकता महसुस भइरहेको छ। अहिलेको एकाग्रता पर्याप्त भैरहेको छैन। यसैले केही दिन यता 'पोयट्री'मा आधारित फिल्म हेरिरहेकी छु
मैले भर्खरै पढिसकेको किताबमा
१. भोल्गादेखि गङ्गासम्म (उपन्यास : राहुल साङ्कृत्यायन)
२. उज्यालोका मालीहरू (संयुक्त कविता संग्रह)
३. मृत्युको अघिल्तिर (कविता संग्रह : मणि लोहनी)
४. कुमारी प्रश्नहरू (कथा सङ्ग्रह : दुर्गा कार्की)
५. नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष (आहुति)
त्यस्तै केही पोइट्री बेस फिल्म पनि हेरेँ।
प्रेमिल उपन्यास पढिरहेको छु : नेत्र एटम, समालोचक
एरिका ल्युक्ट्याकको ’त्रिभुवनकी एरिका’ आत्मकथामा रहेको एरिका र त्रिभुवनको वास्तविक प्रेमकथा मलाई अति मन पर्छ। यसमा दुई जनाबीचमा निकटता, आकर्षण, विश्वास र समर्पणबाट विकसित प्रेमको उच्चस्तरीय प्रस्तुतीकरण छ। मौनतामा पनि उनीहरुले बुझ्ने गहिरो स्पर्श र हृदयको प्रेमिल भाषा यसमा अति सशक्त छ। उनीहरूमा एकापसमा देखिने आदर र स्नेहको सम्बन्धले पाठकलाई गौरवबोध गराउँछ। यस कृतिले प्रेमको एउटा विशिष्ट मानक सिर्जनाको सामर्थ्य राखेको छ।
पुराना र राम्रा पुस्तक पढेकी छु : उमा सुवेदी
घरबाट बाहिर निस्केकी छैन। किताबहरू पढिरहेकी छु। नयाँ लेखहरु लेखिरहेकी छु। परिवारको साथ समय बिताएको छु। सकभर तनाब नलिउँ भनेर सचेत रही घरमै बसी लेखपढ गरिरहेकी छु। बिपी कोइरालाका कथाहरु, गोविन्द गोठाले, पारिजात, लीलबहादुर क्षेत्री, वानीरा गिरी, प्रेमा शाहलगायतका पुराना तर राम्रा मानिएका किताब पढिरहेकी छु।
टाइपिङ स्पिड बढाउँछु : नवराज पराजुली
मैले फिल्म र किताबलाई प्राथामिकता दिएको छु। खलिल गिब्रानका कथा, कविता, नाटक आदि १२ उत्कृष्ट कृतिको संगालो पढिरहेको छु। फिल्ममा अहिले वेभ सिरिज ‘सी’ कजभ हेरिरहेको छु। अधिकांश समय फिल्म र पुस्तकलाई नै दिएको छु। त्योसँगै यो लकडाउनमा टाइपिङ स्पिड पनि बढाउने सोचिरहेको छु।
फिल्म हेरिरहेकी छु : सरिता तिवारी
मैले अहिले पुस्तक पढ्नु भन्दा पनि फिल्म धेरै हेरेको छु। कास्ट अवे, द फिजिसियन, द म्यारिटन, इनिमी द गेटलगायतका फिल्म हेर्ने योजना छ।
तीन वटा फिल्म मैले हेरिसकेँ। उत्कृष्ट छन् यी फिल्महरु। द फिजिसियन मुभी इंगल्यान्ड र पेरिसको मेडिकल इतिहासबारे बनाइएको फिल्म हो। एउटा केटा पेरिसबाट मेडिकल सर्जरी पढ्न चाहन्छ। किनभने त्यहाँको मेडिकल स्टडी एडभान्सड् हुन्छ। इनिमी एट द गेट त दोस्रो विश्वयुद्धको भइहाल्यो।
बच्चा सँग समय बिताइरहेकी छु : क्रान्ती पराजुली
बिहानदेखि बेलुकासम्म घर बाहिर काममा हुन्थें। चाहेर पनि मेरो बच्चालाई समय दिन नसक्दा एकप्रकारको दु:ख बोध हुन्थ्यो। कोरोनाको कारण घरबाट बाहिर निस्किन नपाउँदाको समयलाई सदुपयोग गरेकी छु। घरमा आफैं पकाएर, खाने खुवाउने, बच्चासँग खेल्ने गरेकी छु। एउटा आत्मकथा पढेर सिध्याउन लागेँ। अरु नि पढ्ने पुस्तक बाँकी छन्। बाहिर निस्किन नपाएपनि घरभित्र र आफैभित्र हराएकै छु।
कोरोनाको त्रास खासै लागेको छैन। हुन त यतिबेला सिङ्गो विश्वले अकल्पनीय त्रासदीको सामना गर्नुपरेको छ। अझै थप केही समय जटिल परिवेश झेल्नुपर्ने हुन सक्छ। यतिबेला धैर्य, संयम र सावधानी अपनाउनु जरुरी छ। अब नेपाल पनि त कोरोनामुक्त रहेन तर सबैले सजगता अपनाइयो भने शायद यसले ठूलो रुप लिन पाउने छैन भन्ने आशा छ।
मौलिक उपन्यासको खाका बनाउँदैछु : महेश पौड्याल
अहिले देशमा लकडाउन भएको अवस्थामा कहीँ जान सकिएको छैन। यो हाम्रै लागि हो भनेर मैले हृदयतः स्वीकार गरेको छु। म आफू र घरका अन्य सदस्यहरूलाई यसबारे जानकारी गराइरहेको छु। म देशविदेशका मिडियाका एकएक रिपोर्टप्रति सजग छु, र आफूले थाहा पाएको एकएक नयाँ सूचना म परिवारमा र साथीभाइमा, प्रत्यक्ष अथवा सामाजिक सञ्जालमार्फत् बाँडिरहेको छु।
दिमागमा त्रास छ, तनाव छ। त्यसैले अध्ययन र सिर्जनामा भने मैले खासै केही गर्न सकेको छैनँ। तरै पनि, म यी काम गरिरहेको छु। फुर्सद नभएका कारण पढ्न छुट्याएका केही नेपाली र अङ्ग्रेजी पुस्तक पढिरहेको छु। एउटा मौलिक उपन्यासमा काम गरिरहेको छु। कथावस्तु कोर्दैछु।
नाम अहिले सोचेको छैनँ। तर यसको विषयवस्तु भने भारतमा बस्ने नेपालीहरूको दैनन्दिनी, सजिलो–अप्ठेरो, नेपालसँगको उनीहरूको सम्बन्ध र उनीहरूका सपना–विपना हुने छ। यसले अलि विस्तृत अनुसन्धान पनि माग्छ। त्यसैले अनलाइनबाटै जानकारहरूसँग कुरा गरिरहेछु र आवश्यक तथ्य सङ्कलन गरिरहेको छु। यो उपन्यास बजारमा आउनचाहिँ कम्तीमा एक वर्ष लाग्छ नै।
बारीको माटोसँग खेल्छु, आँगनको ढुंगो पुज्छु, लेखपढ गर्न सकिने समय होइन यो : रामलाल जोशी
यस्तो बेलामा सारा मानवजगत् 'त्राहि माम्'मा छ। सामाजिक सन्जाल ,र टिभीका न्युज, फोटो र समाचार हेरेर दिल, दिमाग खलबलिएको छ। विश्व मानव जगत आक्रान्त भइरहेका बेला के पढ्नु? के लेख्नु? पढ्न बस्दा पनि दिमागभर यही सन्त्रासको झल्को आउँछ। लेख्न बस्दा पनि दिमागमा स्वस्थ कल्पना आउँदैन। संसार चिच्याइरहँदा कसरी पढेर बस्नु? के लेखेर बस्नु? पढ्न, लेख्न, बोल्न स्वस्थ समय चाहिन्छ। स्वस्थ मन चाहिन्छ।
यो कुनै कामका लागी पनि अनुकुल समय होइन। न आफूबहेक अरुलाई बिर्सेर कुनै काममा डुब्न सकिन्छ, न अरुबाहेक आफूलाई बिर्सेर केही नयाँ सिर्जना गर्न सकिन्छ। केही गर्न सकिने समय होइन। आफ्नो सानो बारीको माटोसङ्ग खेल्छु, आगनको ढुंगो पुज्छु। बिहान उठ्दा सूर्यलाई अर्घ्य चढाउँछु। साँझ डुब्दा चन्द्रमालाई हात जोड्छु। यो बेला केवल प्रार्थनाको बेला हो। बस, म प्रार्थनामा छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।