काठमाडौं- भारत, तीन र तेश्रो मुलुकसँग हुने व्यापारमा अत्यावश्यक खाद्यान्नलगायत औषधि र औषधिजन्य वस्तुसामाग्रीको आपूर्ति कोरोना संक्रमणको सन्त्रासका माझ असहज बन्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई व्यापार सहजताका लागि पहल गर्न आग्रह गरेको छ।
बुधबार र बिहीबार बसेको सचिवस्तरीय बैठकले भारत र तेश्रो मुलुकबाट भारत ट्रान्जिट हुँदै आउने वस्तुको पारवहन सुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधि र औषधिजन्य सामाग्रीको आपूर्ति व्यवस्थालाई सुचारु र सहज बनाउन आवश्यक सहयोगको लागि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गर्न भनेको हो।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थितिको सामना गर्न नेपाल सरकार र भारत सरकारले अवलम्बन गरेका पूर्वसतर्कता र सुरक्षाका उपायहरुका कारण दैनिक उपभोग्य वस्तुहरु, औषधि, औषधिको कच्चा पदार्थ र औषधिजन्य सामाग्रीको आपूर्तिमा केही असहजता देखिन थालेको छ,’ बिहीबार उद्योग मन्त्रालयले परराष्ट्रलाई पठाएको पत्रमा भनिएको छ।
कोरोना भाइरसको प्रकोपबाट नागरिकलाई जोगाउँदै न्यूनतम मानवीय आवश्यकता पूरा गराउने कार्यमा पनि उत्तिकै प्राथमिकता दिनुपरेको अवस्थामा वैदेशिक व्यापार र आपूर्तिमा असहज परिस्थिति सिर्जना हुनसक्ने भन्दै आवश्यक पहल गर्न भनेको हो।
‘नेपालको करीब दुई तिहाई व्यापार भारतसँग हुने गरेकोमा वर्तमान परिस्थितिमा अत्यावश्यक वस्तुको आपूर्ति चक्रलाई नियमित बनाउन स्वभाविक रुपमा भारत र तेश्रो मुलुकबाट भारत ट्रान्जिट हुँदै आउने वस्तुका पारवहन सुचारु हुन आवश्यक छ। जसको लागि भारत सरकारको विशेष सहयोग जरुरी देखिन्छ,’ उद्योग मन्त्रालयले पठाएको पत्रमा भनिएको छ‚ ‘यस्तो विशेष परिस्थितिमा मानव स्वास्थ्यमा कुनै संझौता नहुने गरी भारत र तेश्रो मुलुकबाट भारत ट्रान्जिट हुँदै आउने वस्तुको पारवहन सुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधि र औषधिजन्य सामाग्रीको आपूर्ति व्यवस्थालाई सुचारु र सहज बनाउन आवश्यक सहयोगको लागि मन्त्रालयमार्फत भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिन अनुरोध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।