काठमाडौं- भारतबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै पुर्चोडी नगरपालिका-५ कुवाकोटका नरेन्द्र जागिरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्।
उनले भुमिराज मावि, काटै गहताडको क्वारेन्टाइनमा पसेर स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।
बुधबार भारतको बेङलोरबाट आएका जागिरीका छोरा सुनिलसहित ७ जनालाई विद्यालयमा रहेको अस्थायी क्वारेन्टाइनमा राखेपछि ‘मेरो छोरालाई किन राखेको’ भन्दै राति १० बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन्। धामीको औंला र छातीमा सामान्य चोट लागेको छ।
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा राखेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बिनोद कुँवरले बताए। कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाल स्वास्थ्य चौकीमा ल्याइएको उनले बताए।
क्वारेन्टाइनमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जागिरी स्थानीय सहकारी संस्थाको प्रबन्धक समेत रहेको स्वास्थ्य संंयोजक कुँवरले जानकारी दिए। जिम्मेवार नागरिकबाटै यस्तो प्रकारको व्यवहार हुँदा स्वास्थ्यकर्मीलाई समस्या भएको उनले बताए।
कुटपिटमा संलग्न जागिरीलाई पक्राउ गर्न प्रहरी चौकी पुरघाटबाट प्रहरीको टोली बिहीबार बिहान कुवाकोट गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।