काठमाडौं- चीनले नेपाललाई २ हजार थान मेडिकल किट पठाएको छ। चीनबाट बुधबार पठाइएको ती सामग्री शुक्रबार नेपाल भित्र्याउने तयारी भएको छ।
सम्बद्ध स्रोतहरुले दिएको जानकारीअनुसार चीनबाट आउने ती सामग्री नै तातोपानी र रसुवागढी भन्सारबाट नेपाल भित्रिने पहिलो सामान हुनेछन्। सरकारले बुधबार नै रसुवागढी भन्सार र तातोपानी भन्सार खुला गर्ने निर्णय गरेको थियो।
दुवै भन्सारको काम सञ्चालन गर्न कृषि र स्वास्थ्यको टोली काठमाडौंबाट त्यसतर्फ हिँडिसकेका छन्।। भन्सारका कर्मचारी यसअघि नै सम्बन्धित भन्सारमै रहेकाले कृषिको क्वारेन्टाइन र स्वास्थ्यले आवश्यक प्रक्रिया पुरा गरेपछि भन्सार खुला हुनेछ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय समितिले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।