काठमाडौं- भारतीय अर्थमन्त्री निर्लमा सितारमणले गरीब कल्याण योजनाअन्तर्गत दैनिक ज्यालादारी गर्ने र असंगठित मजदुरका लागि १.७ लाख करोड भारतीय रुपैयाँको प्याकेज घोषणा गरेकी छन्।
अर्थतन्त्रमा नकारात्मक संकेतका बावजुत मजदुर र गरीबका लागि राहत हुनेगरी उक्त प्याकेज आएको हो। 'ग्रामिण गरीब र मजदुरका लागि प्याकेज तयार भएको छ‚' अर्थमन्त्री सितारमणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, '१.७ लाख करोड रुपैयाँको प्याकेज आएको छ। कोही भोकै मर्नुपर्ने छैन।'
भारतका ८० करोड मानिस जो गरीब छन्‚ उनीहरुले आगामी ३ महिनासम्म ५ केजी चामल वा पिठो निःशुल्क पाउने छन्।
अर्थमन्त्री सितारमणले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको प्रतिव्यक्ति ५० लाख भारूको स्वास्थ्य बिमाको समेत घोषणा गरेएकी छन्।
स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि ३ महिना कायम रहने मेडिकल बिमा हुने उनले बताएकी छन्। यो अवधिमा भाइरस नियन्त्रणमा आउने अपेक्षा समेत अर्थमन्त्री सितारमणले गरेको द इन्डियन एक्सप्रेसले लेखेको छ।
त्यस्तै ८.६९ करोड किसानको खातामा तत्काल २ हजार भारू ट्रान्सफर हुने व्यवस्था मिलाइएको सितारमणको भनाइ छ। उक्त रकम प्रधानमन्त्री कृषि योजनाअन्तर्गत जानेछ। यो रकम अप्रिलको पहिलो साताभित्र सबै किसानको खातामा जम्मा भइसक्ने उनको दाबी छ।
६० वर्षभन्दा माथिका गरीब जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई १ हजार भारू ३ महिनाभित्र २ किस्तामा उपलब्ध गराइने प्याकेजमा छ। यो योजनाबाट ३ करोड गरीब जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकहरू लाभान्वित हुने अर्थमन्त्री सितारमणले बताइन्।
यसै साताको सुरूवातमा सितारमणले करदातालाई विभिन्न सहुलियत घोषणा गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।