एजेन्सी–कोरोना भाइरसका कारण भारतमा १३ जनाको मृत्यु भएको छ। हालसम्म ६३९ जनामा कोरोना संक्रमण देखिएको छ भने ४७ जना उपचारपछि निको भएका छन्। सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ।
राजधानी दिल्लीमा ९ सय मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। साउदीबाट फर्केकी एक महिलालाई कोरोना लागेको थियो। उनले एक क्लिनिकमा उपचार गरेकी थिइन्। लगत्तै उक्त क्लिनिकका डाक्टरलाई कोरोना भाइरस देखिएको थियो। डाक्टरपछि उनकी पत्नि र छोरीलाई सरेको थियो । यसरी एकपछि अर्कोलाई सरेको पाइएपछि उक्त क्लिनिकको सम्पर्कमा पुगेका ९०० जनालाई राज्य सरकारले क्वारेन्टाइनमा राखेको छ।
साउदी अरबबाट फर्केकी उनले १२ मार्चमा मौजपुर मोहल्ला क्लिनिकमा डा गोपाल झासँग भेटेकी थिइन् । यही महिलाको कारण डा झाको परिवार नै कोरोना भाइरसको संक्रमित भयो। उनीसहित ८ मानिसमा कोरोना संक्रमित भएको पाइएपछि शंकास्पद ९०० मानिसलाई क्वारेन्टाइनमा राखिएको हो । डा झा भने अहिले ठीक भएर घर फर्किसकेका छन्। दुई दिनपछि क्लिनिक खोलेर सेवा दिने तयारीमा आफू रहेको उनले बताए।
दिल्लीमा मात्र ३१ जनामा कोरोना भाइरस देखिएको छ भने १ जनाको मृत्यु भएको थियो । मध्य प्रदेशमा ५ जना नयाँ संक्रमित देखिएका छन्।
कश्मीरमा पहिलो मृत्यु
कोरोना भाइरसका कारण भारतप्रशासित कश्मीरमा पहिलो मृत्यु भएको छ। श्रीनगरमा रहेका बीबीसी संवाददाता रियाज मसरुरका अनुसार श्रीनगर चेष्ट अस्पतालमा कोरोना भाइरस संक्रमित ६५ वर्षका एक व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुने व्यक्ति सुगर,ब्लड प्रेसर र मोटोपनका रोगी पनि भएको उनले बताए।
कश्मीर उपत्यकामा कोरोना भाइरसका ८ बिरामी रहेका छन् भने जम्मु कश्मीरमा ११ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।