काठमाडौं- काठमाडाैं महानगरपालिकाले हिजोबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यलाई आज पनि निरन्तरता दिएको छ। तीन वटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।
उनले सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइने बताए। काम गर्ने क्रममा केही कमजोरी भएको भन्दै उनले महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने बताए। उनले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वडामा पुर्याउने बताए।
महानगरले बिहान ४ हजार लिटर क्षमताको जेट मेसिनले मखनबाट सुरु गरेर बसन्तपुर हुँदै लगन पुर्याएको छ। अर्को जेट मिसिनले बानेश्वर हुँदै विमानस्थलसम्म किटनाशक औषधी छर्केको उनले बताए। तेस्रो मेसिनले महाराजगञ्जलगायतका स्थानमा काम गरिहेको उनले बताए।
अब साना सात वटा ट्यांकरसहित महानगर क्षेत्रभित्रका भीडभाड हुने स्थानमा औषधी छर्कने तयारी भइरहेको उनले बताए। आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजारलगायतका स्थानमा काम गर्ने उनले जानकारी दिए।
उनका अनुसार तीन वटा ब्रुमरले बाटो सफा गर्ने कामलाई पनि निरन्तरता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।