जनकपुर- प्रदेश २ सरकारले सबै कर्मचारीहरुलाई आवश्यक परेको बेला उपस्थित हुनसक्ने गरी नियमित सम्पर्कमा बस्न निर्देशन दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतका प्रत्येक निकायलाई संक्रमण नियन्त्रण एवं व्यवस्थापनको कार्यमा तदारुकताका साथ परिचालन गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम नियन्त्रण एवं व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयको सचिवको संयोजकत्वमा विभिन्न विशेष अपरेसन डेस्क स्थापना र परिचालन गर्ने निर्णय गरिएको छ।
सूचना समन्वय तथा प्रतिकार्य र सुरक्षाकर्मी परिचालन डेस्क, रोकथाम, परामर्श तथा स्वस्थ्योपचार समन्वय डेस्क, अत्यावश्यक वस्तु तथा सेवा सहजीकरण, वन क्षेत्रको संरक्षण एवं बजार अनुगमन डेस्क,प्रदेशस्तरीय समन्वय एवं सहजीकरण डेस्क स्थापना गरिने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारका अन्य सबै मन्त्रालय र कार्यालयहरुमा कोरोना भाइरस महामारी नियन्त्रण सहयोग तथा समन्वय डेस्क स्थापना गरी फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ। विद्युतीय माध्यमबाट कार्यालयको काम सम्पादन गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।