काठमाडौं- नागरिक समाजका अगुवाहरुले श्रमिकलाई विशेष आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।
उनीहरुले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकार चालेको कदमलाई स्वागत गरेका छन्। दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गर्न उनीहरुको माग छ।
‘नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ठूलो छ। संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सिर्जना हुन सक्छ’, सामाजिक अगुवाहरुको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नुपर्ने बाध्यता नहोस्।’
ज्यालादारी गरिखानेहरुका लागि विशेष आर्थिक प्याकेजमा निशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कुलमा फि मिनाहा, निशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ। कार्यान्वयनका लागि स्थानीय तहलाई परिचालन गर्न सकिने सुझाव समेत दिइएको छ।
पूर्व प्रधानन्याधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र पूर्वराजनीतिकर्मी दुर्गा सुवेदीले संयुक्त रुपमा विज्ञप्ति निकालेका हुन्।
मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर सम्पूर्ण ध्यान रोगको नियन्त्रण केन्द्रित गर्न सुझाब दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।