धनगढी- कैलालीको अत्तरियाका भक्तराज भट्ट पाँच दिन लगाएर बैंगलोरबाट धनगढी त्रिनगर नाका पुगे। उनी अहिले नाकामै अलपत्र छन्।
बैंगलोरस्थित होटलमा काम गर्दै आएका उनी होटल बन्द भएपछि घरमा फर्किएका थिए। कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेसँगै भारतका होटल, विद्यालय, संघसंस्था बन्द भएका छन्।
बझाङका कलक महता पनि बैगलोरबाट घरका निस्केका थिए। उनी पनि अहिले नाकामै अलपत्र परेका छन्। उनले भने –‘कोरोना भाइरसले होटल बन्द भएपछि घर फर्किए तर यहीँ (धनगढीस्थित त्रिनगर) नाकामा दुःख पाइरहेको छु।’
बैंगलोरबाट फर्किएका केशव शर्माको पनि सकस उस्तै छ। ‘हामी आफैं अस्पतालमा जाँच गराउँछौं भन्दा पनि जान दिइरहेका छैनन्’, उनले भने।
नाकामा स्वास्थ्य परीक्षण पनि नभइरहेको र नेपालीहरुलाई नाका पार गरेर नेपाल प्रवेश गर्न पनि नदिएको उनको गुनासो छ।
भारतले आफ्नो क्षेत्रमा कडाई गरिरहेको समयमा पनि भारतको पलियाबाट ३५ किलोमिटर पैदल यात्रा गरेर सीमा पुगेका उनीहरुले अहिले झन् दुःख पाइरहेका छन्।
आफूहरु क्वारेन्टाइनमा पनि बस्न तयार रहेको भक्तराज बताउँछन्।
उनले भारतबाट नेपाल आउँदा महंगो शुल्क तिरेर खानेपानी, चाउचाउ लगायत वस्तु खरिद गर्नुपरेको बताए। उनले भने, ‘दुई दिन भयो राम्रोसँग खाना पनि पाएको छैन। झन् यही नाकामा रोकेर समस्या भइरहेको छ।’
उनीहरु जस्तै भारतको मुम्बई, बैंगलोर, दिल्ली लगायतका स्थानमा काम गरिरहेका हजारौं नेपालीहरु अहिले त्रिनगर नाकामा रोकिएका छन्।
नाकामा शशस्त्र, जनपथ प्रहरीहरुले उनीहरुलाई कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा प्रवेश गर्न दिएको छैन। एक सुरक्षाकर्मीका अनुसार सोमबार राति उनीहरुलाई चाउचाउ र खानेपानीको व्यवस्था प्रहरीलेनै गरेको बताए। उनले भने, ‘यही नाकामा रोकेर यो समस्याको समाधान हुँदैन। यिनीहरुलाई आइसोलेसनमा राखेरर चेकजाँच गरी पठाइनुपर्छ।’
रातभर सीमामा रोकिएका उनीहरुले मंगलबार बिहानैदेखि घर जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न थालेका छन्। सीमामा अहिले पनि भारतको विभिन्न स्थानबाट आउने क्रम जारी रहेको जनाइएको छ।
कैलाली सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले गृह मन्त्रालयको आदेश पर्खिरहेको बताए। उनले भने, ‘पहिला सीमामा भएका नेपालीहरुलाई यहाँ ल्याउन गृहको आदेश पर्खिरहेका छौं। गृहको आदेशपछि के गर्ने भन्नेबारे बैठक बसिरहेका छ।’
उनले गृहको आदेशपछि धनगढीमै चेकजाँच गर्ने वा सम्बन्धित जिल्लामा पठाउने बैठकपछि टुंगो लाग्ने बताए।
‘उहाँहरुले नेपाल फर्किन पाउनुपर्यो भन्नुभएको छ, सरकारको निर्णय हामी सबैलाई थाहै छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।