काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ को रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको छ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ स्वीकृत गरेको हो।
मन्त्री भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले सोमबार बिहान मन्त्रालयमा बैठक बसेर क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ लाई अन्तिम रुप दिएको थियो।
समितिमा गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, चारै वटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेका थिए।
समितिको आज (सोमबार) बसेको बैठकले कोरोना भाइरससँग सम्बन्धित क्वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न उक्त मापदण्ड स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
चैत ८ मा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले समितिको बैठकले भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन केन्द्र व्यवस्थापनको लागि समिति बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।