काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार बजार अनुगमनका लागि १० टोली परिचालन गरेको छ। मन्त्रालयले उपसचिवहरुको नेतृत्वमा अनुगमन टोली खटाएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रका अनुसार मन्त्रालयले उद्योग मन्त्रालय, उद्योग विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी व्यवस्थापन गरी अनुगमनमा खटाएको हो।
अरु दिन शाखा अधिकृतको नेतृत्वमा २ देखि ३ टोली बजार अनुगमनका लागि परिचालन हुने गरेको थियो। अहिले बजारमा थप समस्या देखिएका बेला पनि सरकार अनुगमनमा गम्भीर नभएको गुनासो आएपनि मन्त्रालयले उपसचिवहरुको नेतृत्वमा बजार अनुमगनका लागि खटिने गरी जिम्मेवारी तोकेको हो।
‘आज सबै टोली ग्यास र खाद्यान्नको अनुगमनमा गरेको थियो। ग्यास निरन्तर आपूर्ति भइरहेको छ तर मागअनुसार धान्न सक्ने अवस्था छैन। कहिँ कसैले कालोबजारी वा लुकाएको हामीले भेटाएनौ। केही ठाउँमा ग्यास लाइनमा पनि राखिएको भेटियो,’ अनुगमन शाखा निर्देशक मिश्रले भने।
सोमबार उपत्यकाका ३ दर्जन बढी स्थानमा अनुगमन गरिएको छ। सूर्य विनायक, टोखा, सितापाईला, चाँगुनारायण, कलंकी, सानेपा, इमाडोल, महाराजगंजलगायत स्थानमा अनुगमन भएको र ३ वटा पसललाई सामान्य कारबाही भएको मिश्रले जानकारी दिए।
कारबाहीमा पर्ने एउटा खाद्यान्न पसल दर्ता नरहेको र अरु दुईको खरिद बिल जारी नगरिएका कारण सामान्य कारबाहीमात्रै गरिएको वाणिज्य विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।