काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न भिडभाड नगर्न निर्देशन दिइसकेको छ। २५ जना भन्दा बढी मानिस एकै स्थानमा जमघट नहुने र भिडभाड कम गर्न निर्देशन दिएको सरकारले थुप्रै स्थानमा २५ जनाभन्दा बढी मानिस भेला भइरहेका छन्।
देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा अहिले दैनिक बढिरहेको भिडभाडलाई सरकारले देखेको छैन। अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारले आन्तरिक उडान भने सुचारु छ। लामो दुरीमा चल्ने सार्वजनिक सवारी बन्द गर्ने निर्णय गरेसँगै विमानस्थलमा भिड बढेको हो। तर, भिड नियन्त्रणका लागि सरकारले कुनै कदम चालेको छैन।
अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २ सय ५० को हाराहारीमा उडान तथा अवररण भइरहेका छन्। जसका कारण उपत्यका छोडेर बाहिर जाने यात्रुको भिड बढिरहेको छ।
विमानस्थलमा भिड बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान बन्द गर्ने प्रस्ताव कोरोना जोखिम न्यूनीकरण समितिमा लगेपनि बन्दको निर्णय गर्न सकेको छैन।
प्राधिकरणले शनिबार र आइतबार दुवै दिन बसेको समितिको छलफलमा आन्तरिक उडान केही दिन बन्द गर्ने प्रस्ताव लगेपनि समितिका संयोजक पोखरेलले छोटो समयमा यात्रा भन्दै बन्द गर्ने निर्णय तत्काल आवश्यक नरहेको भन्दै प्रस्तावमा छलफल नै गर्न नमानेको प्राधिकरण स्रोत बताउँछ। भिड बढेसँगै सोमबारको छलफमा पनि उक्त प्रस्ताव लैजाने तयारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले गरेको छ।
तस्बिर सौजन्य : प्रज्वल थापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।