काठमाडाैं- कोरोना भाइरसको संक्रमण भएको आशंकमा क्यारेन्टाइनमा राखे पनि त्यहाँबाट भागेका एक व्यक्तिलाई ताइवानले ३३ हजार अमेरिकी डलर जरिवाना गरेको छ। सरकारको सर्त उल्लंघन गरेको आरोपमा उनलाई यस्तो जरिवाना गरिएको हो।
उनी क्यारेन्टाइनबाट भागेर क्वल पुगेका थिए। एशियन टाइम्सका अनुसार उनलाई प्रहरीले पार्टी गरिरहेको अवस्थामा ताइपेइ सहरमा आइतबार फेला पारेको थियो।
उनकाे व्यवहार दुर्भावनापूर्ण भएको भन्दै उनलाई अधिक्तम सजाय गरिएको अधिकारीले जनाएका छन्। ‘जसले नियम उल्लंघन गरेर ठूलो हल्ला र धेरै मानिसहरु जम्मा भएको ठाउँमा जान्छ उसलाई पक्राउ गरेर आइसोलेसनमा राखिन्छ र एक मिलियनसम्म जरिवाना गरिन्छ’ ताइपेइ सिटीका मेयर होउ युईले भने, ‘यसमा कसैलाई छुट दिइँदैन।
ताइवानमा हालसम्म १९५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ। चीन, दक्षिण कोरिया, ताइवान, सिङगापुर र हङकङ दोस्रो चरणको कोरोना भाइरसको संक्रमण झेलिरहेका छन्। ताइवानले विदेशीलाई आउन प्रतिबन्ध लगाएको छ भने स्वदेश फर्कने आफ्ना नागरिकलाई अनिवार्य १४ दिनको क्यारेन्टाइन राख्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।