काठमाडौं- वीरगञ्जका शिवकुमार रुंगटामा विस्तृत स्वास्थ्य रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि उनको परिवारका सदस्यलाई सुरक्षा निगरानी सहित होम क्वारेन्टाइनमै राखिएको छ। पटनाको एक अस्पतालमा उपचाररत रुंगटाको विस्तृत स्वास्थ्य रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको रिपोर्ट आएको थियो। प्रारम्भमा कोरोना संक्रमणको शंका गरिए पनि कोरोना आधिकारिक पुष्टिका लागि गरिएको रियल टाइम पोलिमर चेन्ज रिएक्सन (आरटिपिसिआर) परीक्षण रिपोर्टमा नेगेटिभ देखिएको थियो।
नेगेटिभ रिपोर्ट आए पनि कोरोना भाइरसका लागि क्वारेन्टाइनमा बस्नुपर्ने १४ दिनसम्म परिवारका १४ जना सदस्यलाई सुरक्षा निगरानीसहित उनकै घरमा क्वारेन्टाइनमा राखिएको छ।
उनको परिवारका सबै सदस्य वीरगञ्जमा रहेको घरमै आइतबार दिउसबाट क्वारेन्टाइनमा बसेका छन्। घर बाहिर भने जिल्ला प्रहरी कार्यालय पर्साका सुरक्षाकर्मी खटिएका छन्।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले' स्वास्थ्य रिपोर्टमा संक्रमण नभएको देखिए पनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार रुंगटाको परिवारका सदस्यलाई १४ दिन होम क्वारेन्टाइनमा राखिएको' नेपालाइभलाई जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख गंगा पन्तले स्थानीय प्रशासनको निर्देशन अनुसार रुंगटाको परिवार आफ्नै घरमा क्वारेन्टाइनमा बसेको र प्रहरीले घर निगरानीमा राखेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।