कैलाली- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज दिउँसो दुई बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा (कर्फ्यु) जारी गर्ने निर्णय गरेको हो।
दिउँसो दुई बजेदेखि कैलालीका सीमाहरु पूर्ण रुपमा बन्द रहनेछन्। अत्यावश्यकीय पसलहरु बाहेक अन्य पसल, कलकारखाना, उद्योग धन्दा पूर्ण रुपमा बन्द रहनेछन्। प्रजिअ बोहराले निषेधाज्ञा अवधिमा भेला र भीडभाड गर्न, सवारी साधन र आवतजावत समेत पूर्ण रुपमा निषेध गरिने बताए। प्रजिअ बोहराले निषेधाज्ञा अवधिभर विद्युत, खानेपानी, दूरसञ्चार, पेट्रोल पम्प, औषधि, भोजनालय बाहेक अन्य सबै पसलहरु बन्द रहने बताए।
केही बेरमा जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाका बारेमा आम जनतालाई सुसूचित गर्न माइकिङ गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।