सुर्खेत- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सीमा लक गर्नेदेखि क्वारेन्टाइन स्थापना गर्नेसम्मको रणनीति तयार गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार सम्पन्न कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले विभिन्न रणनीति तय गरेको हो।
विभिन्न १४ वटा निर्णयमा कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थल मार्गका नाकाहरुमा उच्च सतर्कता अपनाई त्यस्ता नाकाहरुबाट नेपाली नागरिकहरुलाई मात्र प्रवेश गर्न दिने गरि लक गर्ने उल्लेख छ।
‘विदेशी नागरिकहरुलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिले मात्र प्रवेश गर्न दिने व्यवस्था गर्ने’, निर्णयमा भनिएको छ, ‘त्यसरी प्रवेश गर्ने व्यक्तिहरुलाई प्रदेशको क्वारेन्टाईनमा कम्तिमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने।‘
अत्याआवश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने निर्णय गरिएको छ। साथै, स्वास्थ्य सचेतना सम्बन्धि जनहितका सूचना तथा सामग्रीहरु प्रदेशका एफएम रेडियो, टिभी च्यानल तथा छापा माध्यम तथा सामाजिक सञ्जाल मार्फत नियमित रुपमा प्रवाह गर्ने निर्णय गरिएको छ।
‘तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६०० बेड र रेडियो नेपालमा ४०० बेड रहने गरी क्वारेन्टाइन स्थापना गर्ने’, निर्णयमा भनिएको छ।
बैठकले २५ जनाभन्दा बढीको जमघट गर्न गराउन रोक लगाउने तथा तत्काल विपद् व्यवस्थापनका लागि ५० करोडको कोष बनाई सोही कोषबाट नियमानुसार खर्च व्यवस्था मिलाउने निर्णय गरिएको छ।
बैठकले निर्णयहरु कार्यान्वयन गर्न उच्च स्तरीय कार्यान्वयन समिति, उच्च स्तरीय अनुगमन समिति, उच्च स्तरीय आपूर्ति समिति, जिल्ला स्तरीय कार्यान्वयन तथा अनुगमन समिति तथा पालिका स्तरीय कार्यान्वयन तथा अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।