एजेन्सी–जर्मनीमा २ जनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाइएको छ। कोरोनाको प्रभाव बढ्दै जाँदा जर्मनी चान्सलर एन्जेला मर्केलले आइतबार टेलिभिजन सम्बोधन गर्दै उक्त प्रतिबन्धको घोषणा गरेकी हुन्।
जर्मनीमा एकै दिन २ हजार ५ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १८ हजार ६ सय १० पुगेको छ भने ९४ जनाको मृत्यु भइसकेको छ। टेलिभिजन सम्बोधनमा मर्केलले संक्रमण दरलाई घटाउन मानिसको आफ्नो बानीव्यवहार बढी प्रभावकारी हुने बताइन्। यो प्रतिबन्ध अधिकांश व्यवसायमा पनि लागू हुने बताइएको छ। त्यहाँ अधिकांश पसल बन्दको घोषणा भइसकेको छ।
२ जनाभन्दा बढी भेला हुन नपाउने गरी २ सातासम्मका लागि गरिएको यो प्रतिबन्ध उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गर्ने बताइएको छ।
मर्केलले आफंैलाई क्वारेन्टाइनमा राखेको घोषणा पनि गरेकी छन्। उनलाई न्युमोकोकसको खोप दिएका डाक्टरलाई कोरोना भएको पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेकी हुन्। ६५ वर्षीया मर्केलले अब घरैबाट काम गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।