काठमाडौं–सरकारले बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचारका लागि केन्द्रीय अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेसँगै त्यहाँ रहेका अन्य तीन कार्यालय कता लैजाने अन्यौल भएको छ।
बलम्बुमा रहेको सशस्त्रको अस्पताल परिसरमा सशस्त्रको ९ नम्बर बाहिनी, प्राविधिक शिक्षालय, कुकुर प्रशिक्षण केन्द्र र अस्पतालका कर्मचारीको ब्यारेक छ। ती सबै कार्यालयका समेत गरेर गरेर एकै कम्पाउण्डमा एक हजार बढी सशस्त्रका जनशक्ति खटिने गरेका छन्।
सरकारले कोरोना भाइरसको उपचारका लागि डेडिकेटेड अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरे पनि अन्य कार्यालय स्थानान्तरणबारे केही निर्णय भएको छैन।
स्रोतका अनुसार सरकारी प्रतिनिधि आएर सो क्षेत्रको अवलोकन गर्दा नै सशस्त्रका अधिकारीले अस्पतालसँगै संगठनको अन्य कार्यालयसमेत रहेको र कोरोना भाइरसका संक्रमितको उपचारमा उपयोग गर्दा अन्य कार्यालयमा रहेका जनशक्ति अन्त सार्नुपर्ने जानकारी दिएका थिए।
एकान्तमा रहेकाले पर्यो छनौटमा
मन्त्रिपरिषद्ले निर्णय गर्नु अगाडि सरकारी प्रतिनिधिहरु गएर अस्पताल क्षेत्रको अवलोकन गरेका थिए।
सरकारी टोलीले नेपाली सेना र नेपाल प्रहरीको अस्पतालको समेत अवलोकन गरेको थियो। अन्य कार्यालय समेत रहेकाे र सशस्त्रका कर्मचारीको नियमित उपचार हुने गरेकाे जानकारी दिँदै सशस्त्र नेतृत्वले अन्य अस्पताललाई उपयाेग गर्न आग्रह गरेको थियो।
अस्पताल मानव बस्तीमात्र पर रहेको र भौतिक संरचनामा सुधार गरेर कोरोना संक्रमितको उपचारमा उपयोग गर्न सकिने देखिएपछि सोही अस्पताल छनौटमा परेको थियो।
सशस्त्रको अस्पताल अहिले २ सय बेड क्षमताको छ। सरकारले कोरोना भाइरस संक्रमतिको उपचारका लागि २ सय बेड क्षमता र पाँच भन्दा बढी आइसियु भएको अस्पतालको उपयोग गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।