काठमाडौं- सरकारले नेपाल र भारतबाट हुने यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै देशबाट हुने यात्रु आवागमन ७ दिनलाई रोक्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले मालसामानको ढुवानी नियमित हुने जानकारी दिए। 'मालसामानको ढुवानी नियमित हुन्छन्, आपूर्तिजन्य व्यवस्थापन नियमित हुन्छन्,' पत्रकार सम्मेलनका क्रममा मन्त्री खतिवडाले भने।
यसैगरी बहुपक्षीय एवं द्विपक्षीय दातृ निकायलाई सहयोगका लागि अपिल गर्ने निर्णय पनि मन्त्रिपरिषदले निर्णय गरेको छ।
बैठकले कोरोनाको उपचारका लागि ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ। यो कोषमा संघीय सरकारका मन्त्रीहरुले एक महिनाको तलब दिनेछन्। यसैगरी निजी क्षेत्र र सरकारी कर्मचारीलाई यसमा सहयोगका लागि आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।
मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै उनले सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पतालका रुपमा अघि बढाउने निर्णय भएको पनि जानकारी दिए।
सीमा नाकामा संक्रमित भेटिए प्यासेन्ट रिसिभिङ टिममार्फत उद्दा र उपचारको व्यवस्था मिलाइने पनि उनले बताए।
सरकारले बजार अनुगमन नियमित गर्ने र बजारमा भएका खाद्य वस्तुको स्टकबारे पनि जानकारी लिने निर्णय गरेको खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।