काठमाडौं–नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत् हुने भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले आइतबारदेखि दैनिक तथा मासिक रुपमा हुने यस्तो कारोबारको सीमा बढाएको हो। राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ क्युआर कोडमार्फत् हुने भुक्तानीको सीमा प्रतिदिन एक लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्नेछ।
त्यस्तै इन्टरनेट बैंकङ मर्चेन्ट बैंकिङतर्फ दैनिक १० लाख र मासिक ३० लाख रुपैयाँको भुक्तानी गर्न सकिने भएको छ। त्यस्तै इन्टरनेट बैंकिङ अकाउन्ट ट्रान्सफरतर्फ दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ।
राष्ट्र बैंकले वालेट र फण्ड ट्रान्सफरको सीमा पनि बढाएको छ। बैंकर एसोसिएसनले शुक्रबार सम्पूर्ण विद्युतीय कारोबारको सेवा निःशुल्क गरेको थियो। कोरोना भाइरसको संक्रमणको उच्च जोखिमको सावधानीका लागि भन्दै बैंकहरुले बैंकमा मानिसहरुको भीड कम गर्न ग्राहकहरुलाई यस्तो अफर गरेका हुन्।
नेपाल राष्ट्र बैंकले आइतबार नै सूचना जारी गरि बैंकिङ सेवा सुविधा बन्द नहुने निर्णय गरिसकेको छ। बैंकहरुमा हुने भीड कम गर्न राष्ट्र बैंकले डिजिटल बैंकिङको सीमा बढाएको हो। यसभन्दा अगाडि बैंकहरुको सफ्टवेयर ह्याक हुने क्रम बढेको थियो। त्यससँगै बैंकहरुले विद्युतीय भुक्तानीको सीमा घटाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।