काठमाडौं–शेयर कारोबार बन्द गर्न माग राख्दै आएका लगानीकर्ताको आग्रह सम्बोधन नभएपछि लगानीकर्ता संघ संगठनहरुले आइतबार शेयर कारोबार गरेनन्। उनीहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै आफ्ना सर्कलका लगानीकर्तालाई कारोबार नगरेर असहयोग गर्न आग्रह गरेका थिए।
तर अनलाइन प्रणालीबाट लगानीकर्ता स्वयंले कारोबार गर्न सक्छन्। लगानीकर्ताहरुले कारोबार नगर्न आग्रह गरे पनि आइतबार दोस्रो बजारमा १९ करोड ४६ लाख रुपैयाँको खरिद बिक्री भएको छ।
बोर्ड र नेप्सेले लगानीकर्ता सँगको भेटमा कारोबार रोक्न मौखिक सहमति जनाएका थिए। तर मन्त्रालयले कारोबार नरोक्न निर्देशन दिएपछि बोर्ड र नेप्सेले कारोबार रोक्ने आँट गर्न सकेनन्। बोर्ड र नेप्सेसँग जम्मा एक साताका लागि मात्रै कारोबार रोक्का गर्ने अधिकार छ। अहिलेको अवस्थामा एक साताका लागि मात्रै कारोबार रोक्का गरेर पुग्दैन। त्यसैले मन्त्रालयको स्वीकृति कुर्नु परेको हो।
लगानीकर्ताका नेताले कारोबार नगर्न आग्रह गरे पनि १८।२० अंकले शेयर बजार तल झरेको छ। सूचक १।४३ प्रतिशतले गिरावट भएर १२५१।४५ अंकमा झरेको छ। होटल, निर्जीवन र अन्य सूचक सुधार देखिए पनि बाँकी सूचक तथा उपसूचक ओरालो झरेका छन्। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ।
जनउत्थान सामुदायिक लघुवित्तको सबैभन्दा धेरै ९।६९ प्रतिशतले बढेको छ। लगानीकर्ताहरुले कारोबार नगर्न भने पनि अहिलेसम्म बोर्डले कारोबार रोक्का गर्ने निर्णय गरेको छैन।
सरकारले अनलाइनमार्फत कारोबार गर्न निर्देशन दिए पनि कोरोनाले बजार लगातार ओरालो झर्न थालेपछि लगानीकर्ताहरुले बजारमा अझै गुमाउने डरले कारोबार रोक्का गर्न अनुरोध गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।