ओस्लो (नर्वे)- विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमण हुने रोग (कोभिड-१९) प्रभावले नर्वेको राजधानी ओस्लोलगायतका मुख्य सहर ठप्प जस्तै भएका छन्। धेरै पसल तथा कार्यालय बन्द भएकाले धेरैको रोजगारी गुमेको छ। तर सरकारले सहायता प्याकेजसमेत घोषणा गरेको छ।
कोरोनाको कारण काम छाड्न बाध्य भएका नागरिकलाई सरकारले 'अनइम्पलोइमेन्ट बेनिफिट' (बेरोजगार सहायता सुविधा)को घोषणा गरेको छ। यो सुविधा नर्वेजियन नागरिकका साथै वैधानिक रूपमा नर्वेमा काम गरिरहेका रहेका अन्य विदेशी नागरिकले समेत पाउनेछन्। संकट व्यवस्थापनको लागि सरकारले १ सय मिलियन नर्वेजियन क्रोनरको सहायता प्याकेजसमेत घोषणा गरेको छ।
नर्वेमा अहिलेसम्म कुनै पनि नेपालीहरुमा संक्रमण देखिएको छैन। साथै भविष्यमा पर्ने सक्ने सम्भाव्य घटनालाई मध्यनजर गर्दै एनआएन नर्वेलगायत नर्वेमा रहेका विभिन्न संघ/संस्थाले नर्वेमा रहेका नेपालीहरूलाई सहयोग गरिरहेको एनआरएन नर्वेका अध्यक्ष नयन मल्लले बताए। उनले सबै नेपाली एकजुट भई काम गर्न आह्वानसमेत गरेका छन्।
नर्वेमा पहिलोपल्ट गत फेब्रुअरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। नर्वेमा हालसम्म २ हजार २ सय १६ जनामा संक्रमण देखिएको छ। जसमध्ये ७ जनाको मृत्युसमेत भइसकेको छ। २ हजार २ सय ३ जना संक्रमिले उपचार गराइरहेका छन्। यीमध्ये केही क्वारेन्टाइनमा छन् भने केही अस्पताल भर्ना भएका छन्।
सरकारले गत मार्च १३ देखि विद्यालय, कलेज, रेस्टुरेन्ट, बारलगायत धेरै भिडभाड हुने ठाउँ बन्द गर्न निर्देशन दिएको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारको आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।