काठमाडौं-उपत्यका बाहिर जानेहरुले पैसा झिक्दा बैंकहरुमा भीड बढेको छ। आफ्नो खातामा भएको पैसा एटिएम र बैंकको काउन्टरबाट झिक्नेको लाम बढेको हो। नेपाल इन्भेष्टमेन्ट, नबिलजस्ता बैंकहरुलाई पनि नगद झिक्नेहरुको व्यवस्थापन गर्न हम्मे परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका थिए। यससँगै बैंकहरुमा पैसा झिक्नेको लाम लागेको हो।
अधिकांश रकम एटिमबाट झिकिए पनि काउन्टरबाट पनि पैसा झिक्नेको लाम लागेको नबिल बैंक नयाँ बानेश्वर शाखा प्रबन्धक म्यानेजर राजीव श्रेष्ठले जानकारी दिए। बैंकहरुले शाखा कार्यालयमा भीडभाड कम होस भनेर विद्युतिय कारोबार गर्नेहरुलाई निःशुल्क गरिदिए पनि ग्राहकहरु चेक बोकेर शाखामै पुग्ने गरेका छन्। यसले गर्दा प्रायःजसो बैंकको शाखा कार्यालयमा भीडभाड देखिन्छ।
कोरोनाकै कारणले १५ वटा बैंक तथा वित्तीय संस्थाको साधारणसभा प्रभावित भएको छ। बैंकहरुले कर्जा प्रवाहको रणनीति पनि बनाउन सकिरहेका छैनन्। निक्षेप राख्ने आउनेहरुको पैसा राखिदिने र चेक बोकेर आउनेलाई पैसा दिनेबाहेक अन्य बैंकिङ कारोबार हुन नसकेको हो।
पछिल्ला दिनमा बैंकहरुको कर्जा लगानी ठप्प रहेको बैंकहरुले जनाएका छन्। बैंकिङ कारोबार ठप्प भएसँगै कतिपय बैंकहरुले बैंकिङ कारोबार समय नै छोट्याउने योजना बनाएका छन्।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका खण्डमा बैंकहरु कार्यालय समय छोट्याउन तयार छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकले फ्रन्टलाइनमा काम गर्नेहरुलाई बाहेक अन्य कर्मचारीहरुलाई घरमा नै बसेर काम गर्न निर्देशन दिएको छ।
अधिकांश बैंकहरुले काउन्टरमा काम गर्ने कर्मचारीलाई मास्क र स्यानिटाइजरको व्यवस्था गरे पनि उनीहरुको मनमा भने धेरै डर छ। बैंकको काउन्टरमा कार्यरत एक कर्मचारीले भने, ‘जतिसुकै डर भए पनि बैंकिङ सुविधा प्रदान गर्नु हाम्रो दायित्व हो।’
‘अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन। यसले गर्दा कर्मचारीहरु बोलाउन सकिएको छ,’ एक बैंकका शाखा प्रबन्धकले भने, ‘भोलि संक्रमण देखियो भने कर्मचारीहरुलाई फ्रन्टलाइनमा बसेर काम गर्न भन्न सक्दैनौ।’
उपत्यका बाहिर जाने ग्राहक भएका काउन्टरमा भ्याइनभ्याइ भए पनि अन्य काउन्टर भने खालीजस्तै देखिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।