काठमाडौं- कोरोनाको सन्त्रास बढेसँगै सरकारले जोखिम न्यूनिकरणका लागि भन्दै भिडभाड कम गर्न भन्दै विभिन्न निर्णय गरे पनि आन्तरिक उडानमा भने खासै प्रभाव परेको छैन।
चैत ४ , ५ र ६ गते आन्तरिक उडानका केही प्रभाव देखिएपछि अन्य समयमा खासै प्रभाव परेको छैन। सरकारले चैत १० गतेबाट लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन सोमबारबाट बन्द गर्न निर्णयसँगै आन्तरिक उडानमा झन् चाप बढेको छ। आन्तरिक उडानमा यात्रुको चाप बढेसँगै एयरलाइन्स कम्पनीहरुले पनि शनिबारदेखि उडान संख्या बढाउन थालेका छन्।
उडान संख्या बढाएसँगै श्री र बुद्धले हवाई भाडा पनि समायोजन गरिसकेका छन्। तर, यती एयरलाइन्सले भने यो समाचार तय गर्दासम्म हवाई भाडा समायोजन गरेको छैन।
फागुन १८ (मार्च १ देखि १९ तारिकसम्म) मा १ लाख ७० हजार १ सय ३४ यात्रुले हवाई यात्रा गरिसकेका छन्। हवाई यात्रा गर्ने संख्यामा पनि उपत्याकाबाट बाहिरिनेको संख्या र भित्रिनेको संख्या बराबरजस्तै रहेको छ। तर, शुक्रबार र शनिबार भने भित्रिनेको संख्याभन्दा बाहिरिनेको संख्या ७५ प्रतिशतले बढेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ।
१९ दिनमा उपत्यकाबाट आन्तरिक हवाई उडानबाट बाहिरिनेको संख्या ८७ हजार ९ सय ५५ छ भने बाहिरिनेको संख्या पनि ८२ हजार १ सय ७९ छ।
यसैगरी १९ दिनकै अवधिमा आन्तरिकतर्फ कुल ४ हजार ७ सय ७२ वटा उडान तथा अवतरण भएको छ। जसमा उडानतर्फ २ हजार ३ सय ८५ र अवतरणतर्फको संख्या २ हजार २ सय ८७ रहेको छ।
१९ दिनको अवधिलाई हेर्न हो भने पनि आन्तरिक उडानको संख्यामा पनि खासै उतार चढाव आएको छैन। सामान्य अवस्थामा दैनिक ३ सयको हाराहारीमा उडान तथा अवतरण हुने भएपनि अहिले पनि २ सय ३० देखि २ सय ५० हो हाराहारीमा उडान भइरहेको विमानस्थलको कार्यालयको भनाइ छ।
१९ दिनको हवाई यात्रुको संख्या
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।