काठमाडौं-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औषधिजन्य र सर्जिकल वस्तुको निर्यातमा रोक लगाउन भन्सार विभागलाई निर्देशन दिएको छ।
शुक्रबार मन्त्रालयमा बसेको आपूर्ति व्यवस्थापन कार्यदलको बैठकपछि औषधिजन्य र सर्जिकल वस्तुको निर्यातमा रोक लगाउने निर्णय भएको हाे। साे निर्णय बमोजिम मन्त्रालयबाट विभागलाई निर्देशन आएको र आइतबारबाट औषधि, मास्क, सेनिटाइजर, भेन्टिलेटरलगायतका वस्तु निर्यात गर्न रोक लगाइएको भन्सार विभागले जनाएको छ।
कोरोना त्रासका कारण अहिले बजारमा यी वस्तुको माग अत्याधिक भएका कारण मुलुकभित्रकै उत्पादनले आन्तरिक मागसमेत धान्न नसक्ने अवस्था छ। भारतले यसअघि नै यी वस्तुको निर्यातमा रोक लगाईसकेको छ। यस्तो अवस्थामा नेपालबाट ती वस्तु बाहिर निकासी भईरहँदा अभाव सिर्जना हुने अवस्था आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
ती वस्तुको निर्यात कहिलेसम्मका लागि रोकिएको हो भन्ने विषयमा भने मन्त्रालयले स्पस्ट पारेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।