काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल-भारतको सीमा बन्द गर्न सहयोगका लागि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई आग्रह गरेका छन्। आइतबार भएको शिष्टाचार भेटमा गृहमन्त्री थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकबीच सहकार्यको आवश्यकतामा जोड दिएका थिए।
नेपाल-भारत सीमाबाट कोरोना महामारी फैलनबाट रोक्न सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरेका थिए । राजदूत क्वात्राले नेपाल-भारतबीच ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए। कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबिच छलफल भइसकेको र नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।