काठमाडौं–विश्वका धनाढ्यहरु सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुन्छन्। कोही व्यक्तिगत रुपमा त कोही ट्रस्ट तथा सामाजिक सेवा गर्ने संस्था नै खोलेर आर्थिक सहयोग गरिरहेका हुन्छन्। कोरोना संक्रमण विश्वभरि नै देखिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यस्तो बेला अर्बपति धनाढ्यहरु पनि आफ्नो सामाजिक उत्तरदायित्व तथा सेवाको भावनाले सहयोग गरिरहेका छन्। उनीहरु एकपछि अर्को गर्दै सहयोगका लागि प्रतिवद्धता जनाइरहेका छन्।
कसकाे कति सहयोग?
ज्याक मा
अनलाइन व्यापार कम्पनी अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा देखिएका छन्। उनले विश्वका ५ दर्जन मुलकमा आर्थिक र प्राविधिक दुवै खालको सहयोग गरिरहेका छन्। विश्वभर फैलिएको यो महामारीविरुद्ध लड्न सबै एक भएर लाग्नुपर्ने सन्देश उनले सामाजिक सञ्जालमा बारम्बार राखिरहेका छन्। विश्व नै एक भएर लडौं (वान वर्ल्ड, वान फाईट) भन्दै ज्याकले हरेक दिनजसो केही न केही सहयोगको घोषणा गरिरहेका छन्।
उनले शनिबारमात्र नेपालसहित १० एसियाली मुलुकका लागि १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटरजस्ता सामग्री सहयोगको घोषणा गरेका छन्। नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमारलगायत १० मुलुकका लागि उनले सहयोग घोषणा गरेका थिए।
त्यस्तै, आइतबार ज्याकले दक्षिण अमेरिकी मुलुक ब्राजिल, अर्जेन्टिना, चिली, क्युवालगायतका लागि २० लाख मास्क, ४ लाख टेस्ट किट र १ सय ४ भेन्टिलेटर उपलब्ध गराएका छन्। यसअघि ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले संयुक्त रुपमा जापान, कोरिया, इटाली, इरान र स्पेनलाई मास्क टेस्टिङ किट उपलब्ध गराएका थिए। त्यस्तै, ५ लाखको संख्यामा कोरोना टेस्टिङ किट र १० लाख मास्क अमेरिकालाई हस्तान्तरण गरेका छन्।
बिल गेट्स
‘बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसन’ नामक लोकोपकारी संस्था खोलेर बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सामाजिक सेवामा लागेका छन। उक्त संस्थाले स्वास्थ्य सामग्रीको सहज उपलब्धता र वितरणमा सघाइरहेको छ। त्यस्तै अहिलेसम्म पत्ता लाग्न नसकेको कोरोनाविरुद्धको भ्याक्सिनको अध्ययन अनुसन्धानमा पनि गेट्स फाउण्डेसनले सघाइरहेको छ।
बिल गेट्सले कोभिड–१९ विरुद्ध लड्न मार्च ५ मा पहिलोपटक १ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग घोषणा गरेका थिए। यो रकम विश्वका सबै मुलुकहरुमा गेट्स फाउण्डेसनमार्फत् वितरण गरिने सहयोग हो। त्यसपछि पनि उनले अमेरिकाका लागि मात्रै पनि विभिन्न सहयोग घोषणा गरेका छन्। अमेरिकी सरकारको ‘नेसनल ट्रयाकिङ सिस्टोम फर कोरोना भाइरस’ अभियानमा गेट्सले प्रत्यक्ष रुपमा सघाइरहेका छन।
अर्का अर्बपति वारेन वफेटले पनि बिल गेट्स फाउण्डेसनमार्फत् सहयोगको प्रतिवद्धता जनाएका छन। बिल गेट्स सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक हुन। गेट्स फाउण्डेसनले २०७२ सालको विनाशकारी भूकम्पका बेला नेपाललाई सहयोग गरेको थियो।
जेफ बेजोस
अमेजन कम्पनीका मालिक बजोसले अमेरिकी संसद ह्वाइट हाउसमै गएर औषधि र घरायसी प्रयोजनका सामान वितरणमा सहजताका लागि आफ्नो कम्पनीले १ लाखको संख्यामा कामदार खटाउने आस्वासन दिईसकेका छन्। त्यस्तै वासिङ्टन डिसीमा आधारित भएर सामाजिक सेवा तथा परोपकारमा लागेका साना संस्थाहरुसँग मिलेर १ मिलियन अमेरिकी डलर बराबरको राहत रकम बाड्ने घोषणा बेजोसले गरेका छन।
एसिटी फर अलेक्जेन्ड्रा, आर्लिङ्टन कम्युनिटी फाउन्डेसन, कम्युनिटी फाउण्डेसन फर नर्दन भर्जिनियालगायत आधा दर्जन सामाजिक संस्थासँग मिलेर अमेजन कम्पनीले घरायसी सामग्री तथा अत्यावश्यक वस्तु र खाना उपलब्ध गराइरहेका छन्। बेजोस र अमेजनले आर्थिक सहयोगभन्दा पनि वस्तुको सहज वितरणका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धताबारे अमेरिकी संसदलाई जानकारी दिईसकेका छन्।
मार्क जुकरबर्ग
सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले युसी सान फ्रान्सिस्को र स्टाण्डफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड १९ परीक्षण र उपचार ९टेस्टिङ एण्ड डाइग्नोस्टिक० का लागि क्षमता बढाउन सहयोग गरिरहेका छन्। त्यस्तै उनले कोभिड १९बाट प्रत्यक्ष प्रभावित हुने साना व्यापारका लागि अनुदान दिन मार्च १७ मा १ सय मिलियन अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेका छन्। फेसबुक कम्पनीको ‘सोसल मिडिया ग्रान्ट’ कोषबाट पनि जुकरबर्गले युनाइटेड नेसन फाउण्डेसनलाई २० मिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), र युएस सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसि) का लागि पनि जुकरबर्गले सहयोग घोषणा गरेका छन।
बेर्नार्ड आर्नल्ट
फ्रान्सको प्रख्यात कम्पनी एलभिएमएचका मालिक हुन बेर्नार्ड आर्नल्ट। उनले आफ्नो कम्पनीले उत्पादन गर्दै आएको बडी पफ्र्युम तथा सौन्दर्य सामग्रीको उत्पादन बन्द गरेर मास्क, सेनिटाइजर तथा ह्याण्ड वाससम्बन्धी सामग्री उत्पादन गर्न थालेका छन्। पछिल्लो हप्तामात्र एलभिएमएच कम्पनीले १२ हजार मेट्रिक टन हाइड्रोअल्कोहलिक जेल ९ह्याण्ड सेनिटाइजर० फ्रान्सका विभिन्न सरकारी निकायलाई बिना शुल्क उपलब्ध गरायो।
जर्जियो अर्मानी
इटालियन अर्बपति जर्जियो अर्मानीले मिलान र रोम सहरका विभिन्न अस्पतालका लागि ४० मिलियन अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग गरेका छन्। अर्मानीको यो कदमपछि उनकै नेतृत्वमा इटालीका अर्बपतिहरुले एक संयुक्त कोषमार्फत इटालीका अस्पताललाई आर्थिक सहयोग गरिरहेका छन।
नेपालका धनाढ्यको मौनताको सामाजिक सञ्जालमा चर्चा
विश्वका धनाढ्यहरुले कोरोनाविरुद्ध जुध्न एकपछि अर्को सहयोगको घोषणा गरिरहेको अवस्थामा नेपालका धनाढ्यहरु भने मौन बसेको चर्चा सामाजिक सञ्जालमा हुन थालेको छ। बेलामौकामा सामाजिक उत्तरदायित्व तथा सेवाका लागि झुल्किने अर्बपतिहरु अहिले किन चुपचाप लागेर बसेका होलान् भनेर उनीहरुको आलोचनासमेत हुन थालेको छ।
२०७२ को विकासकारी भूकम्पका बेला विभिन्न राहत प्याकेज बाँड्न मध्यमवर्गदेखि माथिल्ला व्यावसायिक घरानासम्मले देखाएको तत्परता अहिले नदेखिएको टिप्पणी हुन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।