काठमाडौं- कोरोनाको जोखिम बढ्दै जाँदा नेपालको अर्थतन्त्रमा त्यसले पार्ने प्रभाव यकिन हुन नसक्दा नयाँ बजेट निर्माणका लागि हुने नीतिगत छलफल प्रभावित बनेको छ। अर्थ मन्त्रालयले बजेट निर्माणको तालिकाअनुसार छलफल अघि बढाए पनि यसअघि जस्तो नयाँ नीति निर्माणको विषयमा छलफल हुन सकेको छैन।
मन्त्रालयले शनिबार पनि नयाँ बजेटको विषयमा आन्तरिक छलफल गरेको थियो। तर कोरोनाले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा यसको प्रभाव कहिलेसम्म लम्बिन सक्छ भन्ने यकिन नहुँदा नयाँ नीति तर्जुमा गर्ने विषयमा छलफल नै हुन सकेको छैन।
'अहिले मुख्य विषय नै नेपालमा कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ र अर्थतन्त्रमा यसले कस्तो प्रभाव पार्छ भन्ने हो,' अर्थ मन्त्रालयका एक सहसचिवले भने, 'हामीले नयाँ नीति निर्माणका विषयमा भन्दा पनि तत्कालका लागि यो संकट कहिलेसम्म पर्न सक्छ भन्नेतर्फ छलफल केन्द्रित गरेका छौँ।'
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नुपर्ने समय आउन अब करिब २ महिना मात्रै बाँकी छ। यस्तो अवस्थामा नीतिगत छलफल तथा बजेट तर्जुमासँग सम्बन्धित विभिन्न छलफल अघि बढ्नुपर्ने भए पनि मन्त्रालयले कोरोनाकै कारण त्यसलाई अघि बढाउन सकेको छैन।
राष्ट्रिय योजना आयोगले तयार गरेको बजेटको सिलिङअनुसार अर्थ मन्त्रालयबाट सम्पूर्ण मन्त्रालयहरुमा सिलिङ पठाइएको थियो। नयाँ बजेटको सिलिङ पठाउने बेलामा नेपालमा कोरोनाको प्रभावका विषयमा अहिले जस्तो जोखिम थिएन। तर अहिले सरकारले नै कोरोनाको उच्च जोखिमका कारण अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ।
'हामी सबैले बुझेको कुरा के हो भने साविकको जस्तो परिस्थिति अहिले हामीसँग छैन, यस्तो अवस्थामा कसरी अघि बढ्न भन्ने पनि तय छैन,' ती सहसचिवले भने, 'सकेसम्म समस्या समाधान गर्ने गरी छलफल अघि बढाउने हो, त्यसका लागि केही दिनमा मन्त्रालयगत छलफल अघि बढाउने छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।