काठमाडौं- यतिबेला विश्व समुदाय कोरोना भाइरस (कोभिड १९)को प्रतिरक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ। हरेक दिनजसो आउने नयाँ र नकारात्मक खबरले विश्व समूदायलाई नै चिन्तित बनाइरहेको छ।
विश्वभर कोरोनाको संक्रमण र मृत्युदर बढ्दै जाँदा अर्थतन्त्रसँग जोडिएका केही मुद्दा अहिले ओझेल परेका छन्।
संयुक्त राष्ट्र संघले पूर्वी अफ्रिकामा भोकमरी संकट देखिन सक्ने घोषणादेखि विश्व तापमान वृद्धि, पेट्रोलियम पदार्थको मूल्यमा भएको युद्ध र युरोपको शरणार्थी मुद्दा यतिबेला छायाँमा परेका हुन्।
सलह प्रकोप
सलह (एक किसिमको किरा)ले बाली ध्वस्त पारिरहेको संयुक्त राष्ट्र संघले एउटा प्रतिवेदनमा उल्लेख गरेको छ। जसले त्यहाँको बाली र जनजीवन सबै ध्वस्त पारेको राष्ट्रसंघले जननाइसकेको छ। अहिले यो प्रकोपबारे विश्वको ध्यान गएको छैन।
पहिले नै खाद्य संकट व्यहोरिरहेको पूर्वी अफ्रिकामा छिर्दै गरेका सयौँ अर्ब सलहले त्यहाँको बाली र जीविकोपार्जनलाई नष्ट गरिरहेको राष्ट्र संघले उल्लेख गरेको छ। अफ्रिकी मुलुक केन्यामा यसको सबैभन्दा ठूलो समस्या देखिएको छ।
कच्चा तेलको मूल्य
दुई साताअघिदेखि विश्व बजारमा कच्चा तेलको मूल्य दशकपछिकै न्यून बिन्दुमा झरेको छ। कच्चा तेलको सबैभन्दा ठूलो उत्पादक साउदी अरब र दोस्रो ठूलो उत्पादक रसियाबीचको मूल्य युद्धले विश्वभर तेलको मूल्यमा भारी गिरावट आयो।

कोरोनाले विश्व बजार प्रभावित हुँदा तेलो मागमा निकै गिरावट आइसकेको थियो। त्यसैबीच भएको मूल्य युद्धको प्रभाव बजारमा देखिएको छ।
'चीनमा कोरोना संकट बढेसँगै तेलको माग न्यून भइसकेको थियो, यसबीच भएको मूल्य युद्धले विश्व अर्थतन्त्रको स्वास्थ्यमा प्रभाव पारेको छ,' वर्ल्ड इकोनोमिक फोरमले भनेको छ।
युरोपेली शरणार्थी संकट
गत फेब्रुअरी २८ बाट टर्कीले आफ्नो सीमानामा केही खुकुलो व्यवस्था गरेसँगै युरोपमा आप्रवासनका लागि जानेको संख्या बढ्न थालेको छ। सिरियासहित देशका नागरिकहरु उपचार तथा अन्य कामका लागि युरोप प्रवेश गर्ने र त्यतै स्थायी बसोबास गर्ने क्रम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यूरोपेली युनियनले यसबाट ग्रिससहितका देशमा आप्रवासीका कारण संकट उत्पन्न हुने जनाइसकेको छ।
यसअघि टर्कीले युरोपेली युनियनले गरेको युरोप प्रवेश गर्न चाहनेमाथि कडाइ गर्ने सम्झौता अब लामो समयसम्म नजाने बताएपछि युरोपमा शरणार्थी संकट बढ्ने अनुमान गरिएको हो।
तापमानमा वृद्धि
वर्ल्ड इकोनोमिक फोरमले एउटा रिपोर्टमा लेखेअनुसार यस वर्षको फेब्रुअरी सन् १८८० यताकै दोस्रो तातो भएको छ। जाडो याममा पनि उत्तरी गोलार्द्धमा अस्वाभाविक तातो देखिएको नासा र एनओएएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

युरोप र एसियामा गएको डिसेम्बर, जनवरी र फेब्रुअरी यसअघिका वर्षभन्दा तातो रहेको उनीहरुले जनाएका छन्।
सन् २०१९ लाई यी दुवै संस्थाले दोस्रो तातो वर्ष घोषणा गरेका थिए। त्यसको ठिक एक वर्षपछि अर्को घोषणा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।