काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका राष्ट्रमा कोरोनाको संक्रमणबाट १० जनाको मृत्यु र ९ सय २७ जना संक्रमित भएका छन्।
कोरोनाको संक्रमणबाट सार्कमा मृत्यु हुने राष्ट्रको सूचीमा भारत, पाकिस्तान र बंगलादेश छन्। नेपाल, माल्दिभ्स, भुटान, अफगानिस्तान र श्रीलंकामा भने कोरोनाको संक्रमणबाट अहिलेसम्म मृत्यु भएको छैन। भारतमा पाँच, पाकिस्तानमा चार र बंगलादेशमा एक जनाको मृत्यु भएको हो।
कोरोनाको संक्रमणबाट प्रभावित हुने देशमध्ये सार्कमा पाकिस्तान पहिलो नम्बरमा परेको छ। पाकिस्तानमा हालसम्म ५ सय १९ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ५ सय २ जना उपचारमा छन् भने १३ जना निको भएका छन्। पाकिस्तानमा शनिबार मात्र १८ जना नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ।
पाकिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी भारत प्रभावित भएको छ। भारतमा कोरोनाको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। २ सय ७५ जना संक्रमित भएका छन्। जसमध्ये २ सय ४७ जना उपचारमा छन् भने २३ जना उपचारपछि निको भएका छन्। शनिबार मात्र २६ जना नयाँ संक्रमित थपिएका थिए।
बंगलादेशमा २० जना संक्रमित छन्। जसमध्ये एक जनाको मृत्यु भएको छ। बाँकी १६ जना उपचारमा छन् भने ३ जना निको भइसकेका छन्।
कोरोनाको संक्रमणबाट मृत्यु नहुने राष्ट्रमा श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान र नेपाल पर्छन्। श्रीलंकामा ७३, अफगानिस्तानमा २४, माल्दिभ्समा १३, भुटानमा २ र नेपालमा १ जना संक्रमित भेटिएका छन्। नेपालमा भेटिएका संक्रमित उपचारपछि निको भइसकेका छन्।
श्रीलंकामा ७०, अफगानिस्तानमा २३, माल्दिभ्समा ११, भुटानमा २ जना संक्रमित उपचारका क्रममा छन्।
सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।