काठमाडौं- कोरोना संक्रमणको त्रासका कारण काठमाडौं छाड्नेहरुको संख्या दैनिक बढ्दो क्रममा छ। उपत्यकाबाट दैनिक औसत सवा लाख यात्रु बाहिरिरहेको तथ्यांक महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाबाट बिहीबार १ लाख ८ हजार र शुक्रबार १ लाख ३० हजार यात्रु बाहिरिएका छन्। त्यस्तै गत बुधबार ९८ हजार यात्रुले उपत्यका छोडेका थिए। यात्रुमात्र नभई उपत्यकाबाट बाहिरिने सवारी साधनको पनि अत्याधिक चाप देखिएको छ। उपत्यकाबाट बाहिरिने सवारी साधन पनि दैनिक रुपमा बढ्दो क्रममा छन्।
चैत ५ गते १७ हजार ४ सय, ६ गते १८ हजार ५ सय ५४ र ७ गते २० हजार १ सय सवारी साधन बाहिरिएका छन्। सवारी साधनको चाप बढेसँगै दुर्घटना न्यूनिकरणका लागि विशेष सचेतना अपनाउन पनि ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै चैत १० गतेबाट लामो दूरीका सवारी साधन बन्द गर्ने घोषणा गरेसँगै शनिबार र आइतबार उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको संख्या झन् बढ्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।