काठमाडाैं- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे शनिबारको बैठकमा आन्तरिक हवाई उडान बन्द गर्ने वा नगर्ने विषयाम छलफल हुने भएको छ। शुक्रबार मात्रै सरकारले चैत ९ गतेबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। तर, आन्तरिक उडानको विषयमा केही निर्णय भएको थिएन।
आन्तरिक उडान गर्ने यात्रुको चाप बढेसँगै विमानस्थलका बढेको भीडबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सोमबारबाट आन्तरिक उडान पनि १० दिन बन्द गराउने गरी प्रस्ताव लैजाने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल स्रोतले जानकारी दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकराणले पनि मन्त्रालयको निर्देशनअनुसार आन्तरिक उडान बन्दको विषयमा उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको आजको छलफलमा यो विषय उठान गर्ने तयारी गरेको छ।
यता, सरकारले भने भीडभाड कम गर्न भन्दै चैत १० गतेबाट लामोदूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ। सार्वजनिक सवारीमा टिकट पाउन नसकेका यात्रुहरु अहिले हवाई यात्राका लागि टिकट लिइरहेका छन्। जसका कारण आन्तरिक हवाई यात्रामा चाप सुरु भएको छ। आन्तरिक हवाई यात्रामा पनि काठमाडौंबाट जानेको चाप भए पनि काठमाडौं आउनेको संख्या भने कम छ।
आन्तरिक उडान हुने विमानस्थलमा भीडभाडका कारण सेवा नै बन्द गराउनुपर्ने अवस्था आएको र शनिबार बेलुकासम्म केही न केही निर्णय आउने प्राधिकरण उच्चस्रोतको भनाइ छ।
‘आन्तरिक उडानमा पनि बसमा भन्दा बढी यात्रु अटने विमान छन्,’ स्रोतले भन्यो, ‘८० सिट क्षमताको जहाजमा चढने यात्रुबाट कोरोनाको जोखिम नबढ्ला भन्न सकिनन्न। आज बेलुकासम्म केही न केही निर्णय आउँछ।’
अहिले आन्तरिक उडान गर्ने जहाजको संख्या पनि ५ दर्जनको हाराहारीमा रहेको छ। आन्तरिक उडानमा बुद्धसँग १४ वटा, यती र तारासँग गरी १७, श्रीसँग ६, सौर्यसँग २, सिम्रिकसँग २ वटा जहाज छन्। आन्तरिक उडानको टंक रुट अर्थात् सुगम रुटमा बुद्ध, यती, श्री, सिम्रिक र सौर्यले उडान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।