काठमाडौं- भाटभटेनी सुपर मार्केटमा अब सरकारी स्टल पनि रहने भएको छ। भाटभटेनीसँग मिलेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्य वस्तु बेच्ने भएको हो।
काेराेना भाइरस (कोभिड- १९)को संन्त्रासका कारण बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर सरकारले उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल संचालन गर्ने निर्णय गरिसकेको छ। खाद्यान्न, नुन, तेललगायत वस्तुको सहज आपूर्ति र बजार वृद्धिसमेत हुन नदिन यस्तो कदम चाल्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
‘कमसेकम एउटा जिल्लाको एउटा भाटभटेनी स्टोरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टल पनि राख्ने भनेर हामीले छलफल गरिरहेका छौं। हुन त भाटभटेनी धनीमानीहरु जाने ठाउँ भन्ने बुझिन्छ। तर हामीले त्यहाँ पनि खाद्य वस्तु उपलब्ध गराउन सकियो भने त्यो पनि बजार सन्तुलनको एउटा माध्याम हुनसक्छ,’ सुवेदीले भने।
खाद्य व्यवस्थाले किनबेच गर्ने वस्तु अथवा ‘नेपाल खाद्य’ (नेपाल फुड) भनेर लेखिएका वस्तु त्यहाँ राखिनुपर्ने गरी भाटभटेनीसँग यस्तो समझदारी गर्न लागिएको हो। ‘नेपाल खाद्य लेखिएको प्याकेजिङ हामीले मिलाएर दिन्छौं। त्यसरी खोलिने स्टलमा चामल अनिवार्य नै हुन्छ, त्यहाँ अरु पनि के के हुन्छ त्यो हामी चाँडै टुग्याउँछौं,’ उनले भने।
साबिको खाद्य संस्थानका ३६ वटा शाखा कार्यालय र अञ्चल कार्यालयहरुमा पनि खाद्य व्यवस्थाले खाद्यान्न बिक्री वितरण गरिरहेको छ। साल्ट ट्रेडिङको ५ वटा बिक्रीकक्ष र उपत्यका भित्र तथा बाहिर थुप्रै बिक्रीकक्षलाई पनि सरकारले सहुलियत मुल्य पसलका रुपमा अगाडि बढाउने भएको छ।
‘हामी नाम सहुलियत पसल नै नभनौला, तर खाद्य व्यवस्थाका केहि आउटलेट हामी थप्छौं। त्यहाँ बेचिने वस्तुको मूल्य सहुलियत दरकै हुन्छ। यसले निजी क्षेत्रको बजार एकाधिकार केहि हदसम्म भएपनि नियन्त्रण गर्छ र बजारमा सन्तुलन कायम गर्छ,’प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।