काठमाडौं- कोभिड १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव विश्लेषण र राज्यले खेल्नुपर्ने भूमिकाबारे सरकारलाई सुझाव दिन पूर्वअर्थमन्त्री विचार मञ्च गठन भएको छ।
मुलकको आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवाला निकायसँग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पुर्याउने उद्देश्यले पूर्व अर्थमन्त्रीहरू डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्र बहादुर कार्कीको भेलाले पूर्व अर्थमन्त्री विचार मञ्चच गठन गर्ने निर्णय गरेको हो।
पूर्व अर्थमन्त्री संगठित भएसँगै मञ्चले केही महत्वपूर्ण निर्णयसमेत गरेको छ। कोभिड-१९ बाट उत्पन्न हुन सक्ने स्वास्थ्य एवं आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले स्वास्थ्यका क्षेत्रमा जनचेतनामूलक, नियन्त्रणात्मक एवं उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझ प्रभावकारी ढंगबाट संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय मञ्चले गरेको छ।
त्यस्तै कोभिड-१९ बाट राष्ट्रिय अर्थतन्त्रका विविध पक्षमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनिकरण गर्न र बढी प्रभावित अर्थतन्त्रका क्षेत्रहरुका लागि राहत प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने पनि निर्णय भएको छ। कोभिड-१९ बाट उत्पन्न विपत्तिको अवस्थामा आम जनसमुदाय तथा व्यवसायिक क्षेत्रका सबै सरोकारवालाहरुलाई अधिकतम सचेतना अपनाउन आग्रह गर्ने पनि मञ्च गठनको उद्देश्य रहेको जनाइएको छ।
पूर्व अर्थमन्त्रीहरु बाबुराम भट्टराई, विष्णु पौडेल र महेश आचार्य भने मञ्च गठन कार्यक्रममा उपस्थित भएनन्। विचार मञ्च गठनका लागि नेपाल उद्योग वाणिज्य महासंघले भूमिका खेलेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
मञ्च गठन कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान र चन्द्र प्रसाद ढकाल, महासंघका महानिर्देशक धरणीधर खतिवडा र कार्यसमितिका अरु पदाधिकारीको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।