काठमाडौं- सरकारले अन्तराष्ट्रिय हवाई उडान पूर्ण रुपमा रोकेलगत्तै देशबाहिर रहेका नेपालीलाई स्वदेश फर्कन नपाउने भएका छन्। सरकारले कोरोना भाइरसको संक्रमण रोक्न चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएसँगै नेपाल बाहिर रहेका नेपाली नागरिक समेत स्वदेश फर्कन सक्दैनन्।
यसअघि नै सरकारले विभिन्न मुलुकका अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउँदा विदेशमा रहेका नेपालीहरुले स्वदेश फर्कन समस्या भएको भन्दै चिन्ता जनाएका थिए। प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान पूर्ण रुपमा रोक लगाउने घोषणा गरेका छन्।
सम्बोधनमा उनले विदेशमा रहेका नेपालीलाई समेत सम्बोधन गरे। सम्बोधनमा नेपाल बाहिर रहेका नेपालीलाई मुलुक फर्किन केही असुविधा परेको आफ्नो जानकारीमा रहेको भन्दै नआत्तिन र चिन्तित नहुन आग्रह गरे।
‘आवश्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नुहुन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने‚ ‘हाम्रा नियोगहरुले तपाईंहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।