रसुवा– रसुवाको हाकुबेसीमा निर्माणाधीन माथिल्लो त्रिशुली एक (२१६) जलविद्युत आयोजनाले रसुवाका भुकम्प पीडितलाई दशैं मनाउन खाद्यान्न सामग्री वितरण गरेको छ । २९ महिनाअघि भूकम्पको कारण आफ्नो थातथलो छाडेर उत्तरगया गाउँपालिका–१ मा बसिरहेका बिस्थापितका लागि खाद्यान्न सामग्री वितरण गरिएको हो।
भूकम्पपछि विस्थापित भई उत्तरगया–१ मा बसिरहेका ७ सय १ परिवारलाई दशैं मनाउन खाद्यान्न सामग्री वितरण गरिएको वडाध्यक्ष बमबहादुर तामाङले बताए । उनले भने, ‘जलविद्युत् आयोजनाले वडा कार्यालयले माग गरे अनुसार दशैंका लागि विस्थापित तथा सोही क्षेत्रमा बसोबास गर्ने भूकम्प पीडितलाई समेत राहत सामग्री वितरण गरेका हौं।’
‘भूकम्प पीडितलाई खाद्यान्न वितरण गर्न वडा कार्यालयले माग गरेपछि आयोजनाका तर्फबाट चामल र तेल खरिद गरेर दिएका हौं ।’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले भने । गत वर्ष पनि आयोजनाले कोरियाबाट आयात गरेर भुकम्प पीडितलाई लत्ताकपडा वितरण गरेको थियो।
भूकम्प पीडितलाई राहत वितरण गरेर स्थानीय तहले राम्रो कामको सुरुवात गरेको हाकुका रमेश घलेले बताए । भूकम्पका कारण गाउँमा सुक्खा पहिरो झरेपछि गाउँ नै छाडेर हिँडेका उनीहरु अहिलेसम्म पनि गाउँ फर्कन सकेका छैनन् । उक्त वडामा अहिले मैलुङ, डाँडागाउँ, तिरु र गोगनेबाट विस्थापित भएका पीडितहरु बसोबास गरिरहेका छन्।
गाउँ फर्काउन सरकारले उचित कदम नचालेको भन्दै पीडितहरुले असन्तुष्टि जनाएका छन् । गाउँ फर्काउने वातावरण तय गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने हाकुबाट विस्थापित भएर लहरेपौवामा बसिरहेका छेकु तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।