एजेन्सी–सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई शुक्रबार बिहानै फाँसी दिइएपछि यसबारे टिप्पणी सुरु भएको छ। लोकतान्त्रिक देश भारतमा भएको फाँसीको सजायलाई पक्षका मानिसहरुले स्वागत गरेका छन् भने विपक्षमा रहेकाहरुले अन्तिम अस्त्र नभएको प्रतिक्रिया दिएका छन्। फाँसीलाई निर्भयाकी आमाले न्यायको जित भएको टिप्पणी गरेकी छन्।
अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फाँसी दिइएको थियो। बलात्कार घटनामा उनीहरु चारैजनालाई सन् २०१३ मा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको थियो। फाँसी दिइएपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् जसबाट न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस्।’
निर्भयाकी आमा आशादेवी न्यायपालिकालाई धन्यवाद व्यक्त गर्दै गरिन्। ‘म न्यायपालिका, मिडिया, राष्ट्रपति र तपाईँहरु सबैलाई धन्यवाद दिन चाहन्छु, निर्भयाकी आमा आशादेवीले भनिन्, ‘सात वर्षको संघर्षपछि आज न्यायको जित भएको छ, अबका दिन हाम्री छोरी र महिलाहरुलाई न्याय मिलोस्।’
अब आफ्नी छोरी नफर्किए पनि न्यायको लडाइँ जारी राख्ने उनले बताइन्।
भारतका महिला अधिक सुरक्षित होउन् भन्ने आफ्नो चाहना रहेको उनले बताइन्।
‘फाँसी दिइएलगत्तै मैले आफ्नी छोरीको तस्बिर हेरे र उसलाई भनें–आखिर तिमिलाई न्याय मिलेरै छोड्यो’, आशादेवीले भनिन्, ‘मैले उसलाई बचाउन सकिनँ, यसप्रति दुःख छ तर मलाई त्यसमा गर्व छ कि आज आमाको धर्म पूरा भएको छ ।’
भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच पाँच जनालाई फाँसी दिइएको थियो। यो फाँसी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो। यसअघि सन् २०१५ मा भारतमा फाँसीको सजाय दिइएको थियो।

सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जनाले आफ्ना साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षीया मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए।
निर्भया नाम दिइएकी ती युवतीको केही दिनपछि उपचारका क्रममा निधन भएको थियो। यो घटनापछि दिल्लीसहित भारतभर ठूलो प्रदर्शन भएको थियो। उक्त आन्दोलनपछि बलात्कारविरुद्ध नयाँ कानुन आएको थियो।
घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तीमध्ये राम सिंह नाम गरेका अभियुक्तले सन् २०१३ को मार्चमा जेलमै आत्महत्या गरेका थिए । यस्तै घटना भएका बेला १७ वर्षका रहेका अर्का एकलाई सन् २०१५ मा जेलबाट सुधार गृहमा पठाइएको थियो । उनी नाबालक रहेकाले तीन वर्षको सुधारात्मक जेल सजाय काटेर रिहा भएका थिए।
चार अभियुक्तले पछिल्लो समय आफूहरुको सजाय कम गरी जन्मकैदको मात्रै सजाय दिन माग गर्दै सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर सर्वोच्चले बिहीबार उनीहरुको अन्तिम अपिल खारेज गरेको थियो । फाँसीको केही समयअघि गरेको अपिल केही घण्टा अघिमात्रै खारेज गरिएको थियो। उनीहरुको निवेदन खारेज भएपछि बिहानै तिहाड जेलमा उनीहरुलाई झुन्डाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।