काठमाडाैं- चैत २२ गतेसम्म देशभरका सबै अदालत बन्द हुने भएका छन्। शुक्रबार बसेकाे 'फुल काेर्ट'काे बैठकले यस्ताे निर्णय गरेकाे हाे।
याे निर्णयसँगै बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोकिने भएकाे छ।
सर्वोच्चसहित देशभरका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि आज फुल कोर्टको बैठक बसेको थियाे। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बसेकाे बैठकमा सर्वोच्चका न्यायाधीशहरु सहभागी थिए।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। जिल्ला र उच्च अदालत बार एशोसियसनले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोक्न माग गरेका थिए।
फुल काेर्ट बैठकका लागि सर्वोच्चले आज तोकिएका पेशीहरु यसअघि नै स्थगित गरिसकेको थियाे। अदालतको काममा सेवाग्राही र कानुन व्यवसायी जम्मा हुने भीडले कोरोना संक्रमणको खतरा हुने भन्दै कानुन व्यवसायीहरुले पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।
सरकारले यसअघि नै २५ जनाभन्दा धेरै मानिस भेला हुने कार्य नर्गन र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।